Prakash Adhikari August 18, 2021

 

काबुल(अफगानिस्तान), २ भाद्र । राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको बताउनुभएको छ।

ु”यो पूरै देशका लागि गर्वको क्षण हो”, उहाँले भन्नुभयो. “अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ ।हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ।”

शरिया कानुनका आधारमा महिला अधिकार

पत्रकार सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताउनुभयो।

आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो।

“उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन्। हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौँ कि भेदभाव गरिनेछैन”, मुजाहिदले भन्नुभयो।

तालिबानको राजनीतिक कार्यालयका अन्य वरिष्ठ नेताहरूसहित कान्दहार क्षेत्रमा मुल्लाह बरादर आइपुगेको बताइएको छ।

जबिहुल्लाह मुजाहिद

जबिहुल्लाह मुजाहिद

निजी क्षेत्रका सञ्चारमाध्यम ‘निष्पक्ष र स्वतन्त्र’ हुन पाउने

तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ।

पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मुजाहिदले भन्नुभयो, “निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन्।”

सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तर दिँदै तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने जनाएको छ।

“कसैप्रति बदलाको भाव देखाइने छैन”, मुजाहिदले भन्नुभयो।

आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडून् भन्ने आफूहरूले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको प्रवक्ता मुजाहिदले बताउनुभयो।

कसले कसका लागि काम गरिरहेका छन् भन्ने कुरा सोध्न कसैको पनि ढोका नढकढकाइने उहाँले जानकारी दिनुभयो।

सरकार गठन गर्ने तयारी

पहिलो पटक पत्रकार सम्मेलन गरेका तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने जानकारी दिएका छन्।

आफूहरूले सरकार गठन गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको र त्यो सकिए लगत्तै घोषणा हुने मुजाहिदले बताउनुभयो।

ु”हामीले सबै सीमा नियन्त्रणमा लिएका छौँ “, उहाँले थप्नुभयो।

अलकायदालाई आश्रय दिन सक्ने जोखिम बारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले “अफगानिस्तानको भूमि कसैको विरुद्ध प्रयोग नहुने ” बताउनुभयो।

“अन्तर्राष्ट्रिय समुदायलाई हामी यस बारे विश्वास दिलाउन चाहन्छौँ “, उहाँले भन्नुभयो।

के हो शरिया कानुन ?

तालिबानले शरिया कानुन अन्तर्गत महिलाहरूको हक अधिकारप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

शरिया कानुन इस्लामको कानुनी प्रणाली हो। यो इस्लाम ग्रन्थ कुरान र इस्लाम विद्वानहरूको निर्णय फतवाबाट साभार गरिएको हो।

शरिया कानुनले मानिसहरूलाई परिवार, अर्थ अनि व्यापार जस्ता जीवनका सबै पाटाबारे जानकारी दिन सक्छ।

यसमा केही कडा सजायहरू पनि समावेश हुन सक्छन्।

उदाहरणका लागि चोरीको सजाय हात काटिदिनु हुनसक्छ भने व्यभिचारको सजाय ढुङ्गाले हानेर मारिने हुन सक्छ।

Share Now

Leave a comment.