काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले संविधानले राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताउनुभएको छ ।
सातौँ संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश दिंदै उहाँले झण्डै साढे सात दशक लामो लोकतान्त्रिक सङ्घर्षपछि नेपाली नागरिकले हासिल गरेको यस उपलब्धिले नेपालको राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताउनुभएको हो ।
डा महतले भन्नुभयो “पहिलो पटक संविधानसभाद्वारा निर्मित नेपालको वर्तमान संविधान मुलुकमा जारी सशस्त्र द्वन्द्व र अन्य राजनीतिक मुद्दा व्यवस्थापनका लागि एक सम्झौताको दस्ताबेज हो, यो संविधान जारी भएसँगै राजनीतिक र संवैधानिक विवादहरुको अन्त्य भएको छ ।”
नागरिकले प्राप्त गरेका स्वतन्त्रताको उपयोग गर्दै संविधान कार्यान्वयनका माध्यमबाट पर्याप्त भौतिक पूर्वाधार निर्माण तथा आर्थिक तथा सामाजिक क्षेत्रको द्रुततर विकास गरी नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउन आवश्यक भएको उहाँले बताउनुभयो ।
संविधानसभाद्वारा संविधान निर्माणको विषय विसं २००७ सालको जनक्रान्तिका समयमै जननेता बीपी कोइरालाले उठान गरेको उल्लेख गर्दै सहमहामन्त्री डा महतले नेपाली कांग्रेस नेतृत्वमा नै संविधानसभाको निर्वाचन भइ संविधानसभाद्वारा निर्मित संविधान कांग्रेस नेतृत्वको सरकारले घोषणा गरेको स्मरण गर्नुभयो ।
उहाँले संविधानलाई समयानुकूल बनाउँदै लैजान सकिने बताउँदै यस ऐतिहासिक दिवसमा संविधानका हरेक विषयमा सहमति कायम गर्न खट्ने नेतागण, संविधान निर्माणमा प्रत्यक्ष सहभागी संविधानसभा सदस्य र सबै नेपाली नागरिकको योगदानको सराहना पनि गर्नुभयो ।