Prakash Adhikari November 18, 2021

२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजिनामा माग्दै आन्दोलनमा उत्रिएका वकिलहरु र न्यायालयमा सुरक्षार्थ खटिएका प्रहरीका बीचमा झडप भएको छ ।

प्रहरीले बल प्रयोग गर्दा बिहिबार नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिनुभएको छ ।

प्रहरीको घेरा तोडेर प्रधानन्यायाधीश प्रवेश गर्ने १ नं गेटतिर प्रदर्शनकारी जान खोजेपछि कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

बल प्रयोगका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ घाइते हुनुभएको छ भने धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा पछारिनुभएको छ । उहाँहरुमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुको भनाइ छ ।

झडपमा एकजना डिएसपीको हातमा चोट लागेको छ ।

शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

प्रदर्शनमा उत्रिएका वकिलहरुले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै उहाँलाई माफी माग्न आग्रह गरेका छन् ।

 

Share Now

Leave a comment.