Prakash Adhikari November 18, 2021

दोहा(कतार), २ मंसिर । कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले टी २० अन्तर्राष्ट्रिय श्रृखला अन्तरगतका तीन वटै खेल शानदार ढंगले जितेको छ ।

श्रृखला अन्तरगत आज भएको अन्तिम खेलमा नेपाल १ सय ९ रनले विजयी भयो ।

टस जितेर पहिले ब्याटिड. रोजेको नेपालले दिएको १ सय ६५ रनको लक्ष्य कतारी महिला टिमले भेट्टाउन सकेन र नतिजा नेपालको पक्षमा सुम्पियो ।

खेलमा कतारी महिला टिमले पुरै २० ओभर ब्याटिड गरेर ७ विकेटको क्षतिमा ५५ रन मात्र जोडेको थियो ।

कतारका लागि अलिना खानले १९ आइशाले १३,हिराल अग्रवालले ६, सविजा पानायान र एञ्जिलेन मारेले ३।३, रिज्फा बानो इम्यानुअल र खादिजा इम्तियाजले २ । २ रन जोडेका थिए ।

कतारलाई रोक्ने क्रममा नेपालका रुविना क्षेत्री, सरस्वती कुमारी र सबनम राईले एक एक विकेट लिएका थिए ।

यस अगाडि टस जितेर ब्याटिड.रोजेको नेपालका तर्फबाट सीता रानामगरले अविजित ८२ रन, ज्योति पाण्डेले २४ रन,सरिता मगरले १७, डली भट्टले १२ र काजल श्रेष्ठले ७ रन जोडेका थिए ।

नेपाललाई रोक्ने क्रममा कतारका आयशा,एञ्जिलिन मारे र शाची धाडवालले एक एक विकेट लिए ।

आजको खेलमा प्लेयर अफ द म्याचको उपाधी नेपाली खेलाडी सीता राना मगरले पाइन भने समग्र सेरिजको खेलाडी अर्थात प्लेयर अफ द सेरिजको उपाधी रुविना क्षेत्रीले जितिन ।

यस अगाडि हिजो भएको खेलमा नेपाली चेलीहरुले कतारलाई ६१ रनले पराजित गरेका थिए भने पहिलो खेलमा १ सय १९ रनले नेपाल विजयी बनेको थियो ।

सिरिजका तीनै खेल जितेर नेपाली चेलीहरुले नयाँ कीर्तिमान कायम गरेका छन् ।

Share Now

Leave a comment.