Prakash Adhikari January 2, 2022

अपर्णा अल्लुरी/बीबीसी विश्व सेवा

नयाँदिल्ली(भारत), १८ पौष ।  सन् २०२१ को सुरुतिर राजा र प्रीति नरसिंहा एउटा सन्देश लिएर सडकमा ओर्लिए। उनीहरूको सन्देश थियो: ‘सार्वजनिक स्थानमा थुक्न बन्द गरौँ।’

उनीहरूले एउटा लाउडस्पीकर लिए र कारबाट बाहिर सुनिनेगरी जथाभाबी थुक्ने प्रवृत्तिविरुद्ध सन्देश बजाए। उनीहरूको कारमा पनि त्यस्तै सन्देश टाँसिएका थिए।

भारतमा बस्ने जो कोहीलाई पनि नरसिंहा जोडीको यो अभियान कस्तो प्रवृत्तिविरुद्ध हो भन्ने सहजै थाहा हुन्छ।

भारतका सडक होऊन् वा भित्ता- खकार, पान र गुटखाका रङ्गीचङ्गी थुकले टाटेपाङ्ग्रे भएका हुन्छन्। थुकबाट कोलकाताको ऐतिहासिक हावडा पुल पनि अछुतो छैन।

सार्वजनिक स्थानमा थुक्नेहरूबाट देशका सडक, पर्खाल र भवनहरू जोगाउन नरसिम्हाको जोडीले देश दौडाहा सुरु गर्‍यो।

पुणेमा बस्दै आएका उनीहरूले सन् २०१० यता जथाभाबी थुक्ने प्रवृत्तिविरुद्ध अभियान चलाउँदै आएका छन्।

उनीहरू स्थानीय नगरपालिकासँग मिलेर सरसफाइ अभियान पनि चलाउँछन्।

नरसिंहाका अनुसार एक दिन उनीहरूले पुणेको रेलवे स्टेशनमा मानिसहरूले नथुकून् भनेर भित्तामा पानको चिह्न देखिने चित्र बनाए। तर त्यसको तीन दिनमै त्यो ठाउँ फेरि थुकले भरियो।

“मानिसहरूले भित्तामा थुक्नुपर्ने कुनै कारण नै छैन,” उनी भन्छन्।

उनीहरूको यो बानीलाई कतिपयले बेवास्ता गरिदिन्छन्, कोही कोही त यो कामसँग रिसाउँछन् पनि र भन्छन् “तिमीलाई के समस्या भयो, यो तिम्रो बाउको सम्पत्ति हो र?”

तर कोभिड-१९ को महामारीले भारतमा केही परिवर्तन ल्याएको छ। नरसिंहाका अनुसार कतिपय थुकुवाले त आफ्नो गल्तीबारे क्षमायाचना समेत गरेका छन्।

“महामारीको डरले उनीहरूलाई सोच्न बाध्य बनायो,” उनी भन्छन्।

थुक्ने देश
सडकमा थुक्ने बानीविरुद्ध भारतको लडाइँ उत्साहप्रद भने छैन। मुम्बई सहरले यसमा सबैभन्दा धेरै मेहनत गरेको छ।

उसले सार्वजनिक स्थानमा थुक्ने, फोहोर फ्याँक्ने र पिसाब गर्नेलाई गाली गर्न स्वयंसेवकहरू समेत परिचालन गर्‍यो। तर सार्वजनिक स्थानमा थुक्ने अपराधलाई अझैसम्म पनि भारतमा बेवास्ता गरिन्छ।

भारतमा थुक्ने प्रवृत्तिले हावाबाट फैलिने कोरोनाभाइरस महामारीमा थप जोखिम बढायो।

थुक सफा गरिँदै

थुक सफा गरिँदै

त्यसपछि जथाभाबी थुक्नेहरूलाई जरिवाना र जेल सजाय गराउन अधिकारीहरू विपद् व्यवस्थापन ऐनको सहारा लिएर काम गर्न थाले।

प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सार्वजनिक स्थानमा नथुक्न आह्वान गरे। जथाभाबी थुक्ने काम गलत हो भन्ने भारतीयहरूलाई पहिल्यै थाहा थियो।

मोदीको यो आह्वान सन् २०१६ मा भारतीय स्वास्थ्यमन्त्रीले संसद्‌मा दिएको उत्तरभन्दा धेरै फरक देखिन्थ्यो।

स्वास्थ्यमन्त्रीले त्यस बेला भनेका थिए,”हजुर, भारत थुक्ने देश हो। जब दिक्क लाग्छ, हामी थुक्छौँ। जब थाक्छौँ, हामी थुक्छौँ। हामीलाई रिस उठ्दा पनि हामी थुक्छौँ अथवा केही नहुँदा पनि थुक्छौँ। हामी जहाँ पनि र जहिले पनि थुक्छौँ।”

उनको भनाइ धेरै हदसम्म सत्य पनि थियो। भारतका सडकमा मानिसहरूले थुक्नुलाई सामान्य रूपमा लिइरहेका हुन्छन्।

सडकमा हिँड्दाहिँड्दै टाउको केही तल झुकाएर मानिसहरू पिच्च थुकिरहेका हुन्छन्।

कार, मोटरसाइकल वा टेम्पो चलाइरहेका मानिसहरू ट्राफिक बत्तीमा रोकिएको बेला टाउको बाहिर निकालेर थुक्न अलिकति पनि सङ्कोच मान्दैनन्। यसो गर्नेमा अधिकांश पुरुषहरू नै हुन्छन्।

स्तम्भकार सन्तोष देसाईका अनुसार भारतीय पुरुषहरू आफ्नो शरीर र शरीरबाट निष्कासन हुने सबै कुराको लागि सहज महसुस गर्छन्।

“सार्वजनिक स्थानमा आफ्नो शरीरलाई राहत दिनका लागि उनीहरू अलिकति पनि लजाउँदैनन्। लाज लागे न मान्छेहरूले यस्तो गर्नु हुँदैन भनेर रोक्ने हो,” उनले भने।

भारतीय पत्रिका द टेलिग्राफका पत्रकार उद्दालक मुखर्जी थुक्नु पनि विषाक्त पुरुषवादी सोचको एउटा ‘सान’ भएको बताउँछन्।

थुक्दै मोटरसाइकल चालक

थुक्दै मोटरसाइकल चालक

किन सार्वजनिक स्थलमै थुकिन्छ

मानिसहरूले आखिर किन सार्वजनिक स्थलमा थुक्छन् त?

नरसिंहाका अनुसार रिस मार्नदेखि समय कटाउनसम्म मानिसहरू त्यसो गर्छन्। “अनि उनीहरूलाई थुक्ने आफ्नो अधिकार हो भन्ने लाग्छ,” उनी भन्छन्।

इतिहासकार मुकुल केशवन थुक्नुलाई प्रदूषणको दिक्दारीबाट मुक्त हुने “भारतीय चलन” पनि हो भन्ने लाग्छ।

केही इतिहासकारहरूले यसलाई उच्च जातिका हिन्दूहरूले शारीरिक शुद्धताका लागि विकारलाई घरबाहिरै फाल्ने चलनसँग पनि जोडेका छन्।

थुक्ने प्रवृत्ति सरसफाइको प्रश्नभन्दा धेरै माथि छ। मुखर्जीका अनुसार एक पटक ट्याक्सी चालकले उनलाई आफ्नो दिन खराब भएको भन्दै त्यो अभिव्यक्तिलाई बाहिर निकाल्न चाहेको बताएका थिए।

थुकुवाहरू विरुद्धको लडाइँ

कुनै समय यस्तो पनि थियो जुन बेला जसले जहाँ पनि थुकिरहेका हुन्थे। भारतमा राजदरबारमा पनि थुक्ने चलन थियो र धेरै घरहरूमा थुक्नका लागि छुट्टै भाँडाहरू राखिएका हुन्थे।

युरोपमा पनि मध्यकालमा खानाको समयमा टेबलमुनि थुक्न पाइन्थ्यो। इरास्मसले उनको लेखमा थुकलाई दुई पटक भित्र तानेर निल्न अशिष्ट मान्ने गरिएको उल्लेख गरेका छन्।

सन् १९०३ मा ब्रिटिश मेडिकल जर्नलले अमेरिकालाई विश्वकै धेरै थुकिनेमध्येको एउटा देशमा राख्यो।

सन् १९०८ मा एक स्वास्थ्य निरीक्षकले कारखानाहरूमा कपडा सिलाउने मानिसहरूले भुइँभरि थुकेको देखेपछि किन थुकेको भनेर सोधेका थिए।

तर उनले उत्तर पाएः “उनीहरूले थुक्ने नै भुइँमा त हो। त्यहाँ नथुकेर आफ्नो खल्तीमा थुकून् भन्ने तपाईँको अपेक्षा हो?”

ब्रिटेनमा पनि खासै राम्रो अवस्था चाहिँ थिएन। मानिसहरूले जरिवाना हुने भए पनि ट्याक्सीहरूमा थुक्न छोड्दैनथे र स्वास्थ्य क्षेत्रले त्यसविरुद्ध कडा कानुनको माग गरिरहन्थ्यो।

नथुक्न आग्रह गरिएको बोर्ड

नथुक्न आग्रह गरिएको बोर्ड

पश्चिमा देशहरूमा यो बानी परिवर्तन ल्याउनमा क्षयरोगको फैलावट प्रमुख कारक बन्यो।

क्षयरोगको विश्व इतिहास बारेको प्रकाशोन्मुख किताबकी लेखिका पत्रकार विद्या कृष्णनका अनुसार १९औँ शताब्दीको अन्त्यतिर र २०औँ शताब्दीको आरम्भतिर जीवाणुबारे मानिसहरूमा आएको चेतनाले पनि थुक्ने बानी कम भयो।

“मानिसहरूमा कसरी जीवाणु फैलिन्छ भन्नेबारे आएको चेतनाले नयाँ सामाजिक बानीबेहोरा र प्रथाको उदय भयो। मानिसहरूले सिँगान र खकारहरू छोप्न थाले। हात मिलाउन अस्वीकार गरे र बच्चालाई चुम्बन गर्न पनि कम गरे। घरभित्र पनि सरसफाइमा ध्यान पुर्‍याए,” उनी भन्छिन्।

बढ्दो चेतना
कृष्णनका अनुसार बढ्दो चेतनाले सार्वजनिक स्थानमा थुकेर सङ्क्रमण फैलाउने कारक बन्ने गरेका पुरुषहरूको बानीबेहोरामै परिवर्तन ल्यायो।

तर उनी भारतमा यो बानीमा परिवर्तन ल्याउन केही अप्ठ्यारा देख्छिन्। भारतका राज्यहरूले यो बानी परिवर्तनका लागि धेरै मेहनत नै गरेका छैनन्।

अर्को कुरा थुक्ने कुरा सामाजिक रूपमा अझै स्वीकार्य छ। कुनै सुर्तीजन्य पदार्थ खाएर थुकेको होओस्, खेलाडीले क्यामरातिर फर्केर थुकेको होस् वा बलीवुड चलचित्रहरूमा पुरुषहरू एक अर्कासँगको झगडामा थुकिरहेका दृश्य होऊन्।

नथुक्न आग्रह गरिएको नारा

नथुक्न आग्रह गरिएको नारा

मानिसहरूले थुक्नै परे थुक्नका लागि थुकदानीहरू नराखिएकोमा नरसिंहा पछुतो मान्छन्।

“यदि मैले थुक्नै पर्‍यो भने कहाँ थुक्ने? म बच्चा हुँदा नै कोलकातामा बिजुलीका खम्बाहरूमा बालुवाले भरिएका थुकदानी राखिएका देखिन्थे। अहिले ती हराए र मानिसहरूले जथाभाबी थुक्न पनि छोडेनन्,” उनले भने।

भारतमा ठूलो मात्रामा बानीबेहोरा परिवर्तनका लागि सार्वजनिक स्वास्थ्य हस्तक्षेप गर्न पनि चुनौती रहेको कृष्णन बताउँछिन्।

“भारतमा शौचालय वा स्नानगृहको पहुँच, बग्ने पानी र राम्रो पानी वितरण प्रणाली पाउन पहुँच हुनुपर्छ,” कृष्णनले भनिन्।

मानिसहरूले किन थुकिरहेका छन् भन्ने नबुझी उनीहरूलाई सजाय मात्र गर्नाले थुक्ने प्रवृत्ति विरुद्धको लडाइँ जित्न नसकिने स्वास्थ्यविद्हरूको चेतावनी छ।

कोभिड महामारीको दुई वर्ष बितिसक्दा यो बानीको समाधान खोज्ने तत्परतामा कमी आउँदै गएको छ।

तर राजा र प्रीति नरसिंहा सडक सङ्घर्षबाट थाकेका छैनन्। कतिपय मानिसलाई थुक्दा कोभिड फैलिन सक्छ भन्ने थाहा छैन। कतिपय भने यो बानीमा केही सुधार ल्याउन चाहने पनि छन्।

“हाम्रो समय खेर गए पनि केही छैन, तर प्रयास त गरिहेरौँ,” नरसिंहा भन्छन्। “हामीले दुई प्रतिशत मानिसको मनोवृत्तिमै परिवर्तन ल्याउन सक्यौँ भने पनि केही त फरक पार्न सक्छौँ।”

 

Share Now

Leave a comment.