काठमाडौंं, २ फागुन । कायम मुकायम मुकर्रर प्रधानन्यायाधीश दीपककुमार कार्कीले सोमबार अपरान्हको लागि सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउनुभएको छ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको अदालत सूत्रले बताएको छ ।
बैठकमा न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लागे पनि उहाँको पूर्ण बहिर्गमन नभएसम्म आन्दोलन जारी राख्ने बताइसकेको छ ।








