Prakash Adhikari April 25, 2022

 

काठमाडौं, १२ बैशाख। नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान प्रत्याभूति (एलएलजी) सम्झौता भएको छ।

सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गर्नुभएको छ।

सम्झौतामा कुनैपनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ। यस अन्तर्गत सुरुमा यस जमानतले १० करोड रुपैयाँसम्मको सुरक्षण प्रदान गर्नेछ।

केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोष (सीआरइएफ) ले युकेएडको सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्ड (एसइसीएफ)को स्थापना गरेको छ।

यसले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ। यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवर्द्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उदेश्य लिएको छ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्च पदस्त कर्मचारीहरु समेतको उपस्थिति थियो।

Share Now

Leave a comment.