कीर्तिपुर, काठमाडौं), २१ जेठ(बीबीसी) । बाराका सुदीप कुमार कर्णले बीबीएस प्रथम वर्षको परीक्षा दिएको नौ महिना बितिसक्यो।
पच्चीस वर्षका कर्णले बीबीएस चौथो वर्ष अर्थात् स्नातक तहको अन्तिम परीक्षा पनि उत्तीर्ण गरिसक्नुभएको छ।
तर प्रथम वर्षको परीक्षाफल त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म सार्वजनिक गरेको छैन। परीक्षाफल समयमा नआउँदा आफूले उच्च अध्ययन र जागिरका अनेकौँ अवसर गुमाएको उहाँको गुनासो छ।
पटकपटक ताकेता गर्दा पनि नतिजा सार्वजनिक कहिले हुन्छ भन्ने कुराको स्पष्ट उत्तर पाउन नसक्दा उहाँ दिक्क हुनुभएको छ।
“परीक्षाफल कहिले आउला त्यसको ठेगान छैन। शिक्षकका रूपमा काम गर्नका लागि आवश्यक अनुमति पत्रका लागि फारम भर्ने अवसर गुम्यो। अध्ययनका लागि विदेश जाने पनि सोचिरहेको थिएँ, त्यो अवसर पनि छुट्यो। अब त्यो प्रमाणपत्र लिएर मैले के गर्ने ?” कर्णले प्रश्न गर्नुभयो।
तैपनि उहाँ त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय जान छोड्नुभएको छैन।
“केही दिनअघि दिक्क लागेर त्यहाँ (परीक्षा नियन्त्रण कार्यालय) गएको थिएँ, के छ भनेर सोध्नलाई। तर कर्मचारी नै थिएनन्”, उहाँले भन्नुभयो।

विश्वविद्यालयबाट दीक्षित विद्यार्थीको फाइल तस्बिर
यस्तो समस्या खेपिरहेका कर्ण एक जना मात्रै हुनुहुन्न।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष साउन महिनाको छेकोमा परीक्षा लिइएका स्नातक तहका सबै सङ्कायको परीक्षाफल अहिलेसम्म प्रकाशन हुन सकेको छैन।
यसबाट देशभरि झन्डै २ लाख ४० हजार विद्यार्थी अझै परीक्षाफलको प्रतीक्षामा छन्।
के हो कारण ?
परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिलेसम्म नतिजा प्रकाशन हुन नसक्नुको मुख्य कारण कोभिड १९ महामारीले पारेको प्रभाव हो।
गत वर्ष वैशाख महिनामा स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरूको परीक्षा भइरहेको थियो।
वैशाख १३ गते केही विषयको परीक्षा लिन बाँकी हुँदै प्रधानमन्त्रीको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रण गर्न ूकुनै पनि हालतमा परीक्षा नगर्नू निर्देशन दियो।
त्यसपछि साउन ५ गतेबाट विश्वविद्यालयले छुटेको परीक्षा सञ्चालन गर्न थाल्यो। साउन महिनामै स्नातक प्रथम वर्षको पनि परीक्षा सुरु भयो।
तर त्यस बेलासम्म महामारीले सिर्जना गरेको अनिश्चितताका बीच विद्यार्थीहरू आआफ्नो घर पुगिसकेका थिए। त्यसले गर्दा जो जहाँ छ त्यहीँ बसेर परीक्षा दिन मिल्ने व्यवस्था गरिएको अधिकारीहरू बताउँछन्।
“त्रिचन्द्रमा पढ्ने विद्यार्थी कोही दार्चुलामा थिए, कोही इलाममा थिए। त्यसले गर्दा उत्तरपुस्तिका सङ्कलन गर्ने लगायतका कार्यमै समस्या भयो”, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डा. घनश्याम ठाकुरले भन्नुभयो।
त्यसबाहेक कोभिड महामारीका कारण कतिपय अनुभवी कर्मचारीको मृत्यु भएको र केहीले तात्कालिक परिस्थितिमा काम गर्न नसक्ने बताउँदा समस्या थपिएको उहाँ बताउँनुहुन्छ।
“त्यसैले गर्दा करिबकरिब दशैँपछि मात्रै हामीले काम गर्न सुरु गर्यौँ “, ठाकुरले भन्नुभयो।
शिक्षा मन्त्रालय
यसले गर्दा सबै तहका विद्यार्थीको परीक्षाफल प्रभावित भएको त्रिभुवन विश्वविद्यालयको भनाइ छ।
स्नातक तहमा तीन वर्ष र चार वर्षमा पढाइ सम्पन्न हुनेगरी अध्यापन हुने र त्यसैअनुसार परीक्षा लिइने हुँदा आफूहरूको समस्या झन् थपिएको विद्यार्थीहरू बताउँछन्।
“चारको ठाउँमा आठवटा परीक्षाफल सार्वजनिक गर्नुपर्ने छ। अब कसैको नतिजा यो महिनाभित्र आउँछ, कसैको असार १५ भित्र गर्नेगरी हामी अघि बढिरहेका छौँ “, उहाँले भन्नुभयो।
तुलनात्मक प्रथम वर्षमा विद्यार्थी सङ्ख्या धेरै हुने र उत्तीर्ण हुन नसकेका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने विद्यार्थी पनि थपिने हुँदा झन् समस्या पर्ने अनुभव अधिकारीहरूको छ।
त्रिभुवन विश्वविद्यालयका अनुसार विगतमा सामान्यता चार महिनामा परीक्षाफल सार्वजनिक गर्ने गरिएको थियो।

खुल्न नसकेको गाँठो
नतिजा प्रकाशन गर्न नसकेको त्रिभुवन विश्वविद्यालयमा केही महिनाअघि शिक्षामन्त्री पनि पुग्नुभयो।
त्यस बेला कार्यालयले ‘छिट्टै नतिजा प्रकाशन गर्ने वाचा’ गरेको थियो। तर हालसम्म पनि त्यो वाचा पूरा हुन सकेको छैन।
आफूहरूले माग गरेबमोजिम स्रोत र साधन प्राप्त गर्न नसकेकाले वाचा पूरा गर्न नसकिएको ठाकुरको दाबी छ।
“हामीले २० जनाजति प्राविधिक कर्मचारीको माग गरेका थियौँ। त्यसमा जम्मा ५।६ जना आए। अनुभवी कर्मचारी सरुवा गरेर फिर्ता ल्याउने कुरा थियो”, उहाँले भन्नुभयो।
त्रिभुवन विश्वविद्यालयमा कर्मचारी भर्ना गर्ने सेवा आयोगले काम ढिलो गर्दा र करारमा शिक्षक नराखिने हुँदा पनि समस्या चुलिएको ठाकुर बताउनुहुन्छ।
व्यवस्थापककी समस्या देखाउँदै भइरहेको ढिलाइका कारण विद्यार्थीहरूले खेप्नुपरेको सास्तीबारे प्रश्न गर्दा ठाकुर भन्नुहुन्छ,”विद्यार्थीको पीडा सही हो। तर एक जनाको मात्रै नतिजा सार्वजनिक गर्न त मिल्दैन। काम हुँदाहुँदै पनि चाप बढी भएको अनि परीक्षास्थल फेरिएका कारण समस्या भइरहेको छ।”
के भन्छन् जानकार ?
जानकारहरूका अनुसार पछिल्लो समय परीक्षाफल सार्वजनिक गर्न तुलनात्मक रूपमा निकै बढी समय लाग्नुको कारण त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन कमजोर हुनु हो।
“त्यसमा पनि राजनीतिकीकरण भएको छ। त्यहाँको प्रशासन, व्यवस्थापन गैरजिम्मेवार छ”, विभिन्न बहानामा समयमा विश्वविद्यालये हरेक परीक्षाको नतिजा सार्वजनिक गर्न नसकेको बताउँदै शिक्षा क्षेत्रका जानकार धनञ्जय शर्माले भन्नुभयो।

परीक्षा
यस्तो समस्या दोहोरिन नदिन विश्वविद्यालयको संरचनामै परिवर्तन गरिनु पर्ने उहाँको तर्क छ।
त्रिभुवन विश्वविद्यालय स्वायत्त निकाय रहे पनि त्यो कागजमा मात्रै सीमित भएको उहाँले बताउँनुभयो।
ूजुन निकायमा भागबन्डाका आधारमा कुलपति, रजिस्ट्रार आदि नियुक्त हुन्छन् त्यसलाई स्वायत्त संस्था कसरी भन्नुरुू उहाँको प्रश्न छ।
विश्वविद्यालयबाहेक सरकारले पनि आफ्नो भूमिका हस्तक्षेपकारी हुन नहुने कुरा नसोचेको उहाँ बताउँनुहुन्छ।
“यो परिपाटी असाध्यै नराम्रो परिपाटी हो। यसले विद्यार्थीको भविष्य माथि खेलबाड गरेको छ”, शर्माले भन्नुभयो।
व्यवस्थापकीय समस्यामा परेको बताउने त्रिभुवन विश्वविद्यालयले काठमाण्डू विश्वविद्यालयजस्ता संस्थाबाट पनि धेरै कुरा सिक्न सक्ने विज्ञहरू औँल्याएका छन्।
स्रोत र साधनको कमी नै हो त बाधक ?
समयमा परीक्षा सञ्चालन गर्नेदेखि परीक्षाफल प्रकाशन गर्ने कुरामा त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले जनशक्तिको अभावदेखि स्रोत र साधनको कमी पनि कारक रहेको बताउने गरेका छन्।
तर त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. हीराबहादुर महर्जन त्यो तर्कसँग सहमत देखिँनुहुन्न।
“विभिन्न कुराहरूमा अल्झेर परीक्षाफल सार्वजनिक गर्ने कुरामा उहाँहरूको ध्यान नपुगेको हो किरु नभए त स्रोत र साधनका हिसाबमा हेर्दा हिजोसम्म पुग्थ्यो, आज पुग्दैन भन्नु त ‘ एकैचोटि त्यस्तो हुने कुरा पनि त भएन नि”, महर्जनले भन्नुभयो।

परीक्षा
उत्तरपुस्तिका परीक्षण सेवानिवृत्त प्राध्यापकहरूले गर्न निषेध नभएको उहाँ बताउँनुहुन्छ।
नेपालका हरेक क्षेत्रमा राजनीतिकीकरण भएको र त्यसको प्रभाव विश्वविद्यालयमा पनि रहेको स्वीकार्दै महर्जनले महिनौँसम्म तालाबन्दी गरिने जस्ता क्रियाकलाप हुनु नहुने तर्क गर्नुभयो।
शर्मा पनि स्रोतसाधन वा जनशक्तिको अभाव नै बाधक रहेको कुरासँग सहमत हुनुहुन्न।
“त्यहाँ अभाव छ भने इमानदारीको अभाव छ। कर्मचारी पदाधिकारी र प्राध्यापक समेतले दायित्व निर्वाह नगर्ने परिपाटी छ”, उहाँले भन्नुभयो।


















