काठमाडौं, २२ जेठ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु भएको छ।
नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेदेखि निर्यात सुरु भएको छ।
प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ।
कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १ सय ७७.७ मेगावाट विद्युत भारत निर्यात गरेको छ। कालीगण्डकी ए को १ सय ४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात भैरहेको छ।
वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी उब्रेको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ ९७ भारु रहेको बताउनुभएको छ।
‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ ( भारु१२), न्यूनतम २.३८ रुपैयाँ (भारु१.४) र औसत दर ११.२ रुपैयाँ (भारु ७) छ’, घिसिङले भन्नुभयो।
आइएक्समा २४ घण्टालाई १५ ।१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ।
प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र भारु२.४९ (नेरु३.९८) छ। त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०.७६ नेरु) छ।
यसैगरी, प्राधिकरणले आजदेखि अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारुं) मा विद्युत बिक्री गरेको छ। औसत मूल्य ११.४८ रुपैयाँ (७।१८ भारु) रहेको छ।
नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३ सय ६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ।


















