काठमाडौँ, २७ भदौः रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीमा परी हालसम्म ४ हजार ८९ जना बेपत्ता छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि उनीहरूको खोजीकार्य जारी रहेको छ । हालसम्म १ हजार ३ सय ८४ जनाको शव फेलापरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १ सय ८५, नुवाकोटमा १ सय ९९, धादिङमा ७०, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २९ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० शव व्यवस्थापन गरिएको छ । पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ४६ गरी कुल ३ हजार १ सय ३२ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । यसैगरी पहिचान हुन नसकेका १ हजार ३ सय ३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल २ हजार ७ सय १२ जनालाई राखिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो ।








