जुबैदा अब्दुल जलिल । बीबीसी न्यूज
कोलम्बो(श्रीलंका), ३१ आषाढ । श्रीलङ्कामा विरोधप्रदर्शन चर्किएपछि अकस्मात् देशबाट पलायन हुनुभएका राष्ट्रपति गोटाबय राजपक्षले सिङ्गापुर पुगेपछि पदबाट राजीनामा दिएको पत्र पठाउनुभएको छ।
अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उहाँ पत्नी र दुईजना सुरक्षाकर्मीको साथमा सैनिक विमानद्धारा बुधबार झिसमिसे हुनुपूर्व ३ बजे अध्यारोमै भागेर माल्दिभ्स पुग्नुभएको थियो ।
उहाँ बिहिबार माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर जानुभएको थियो।
राजपक्ष सिङ्गापुरमै बस्नुहुन्छ वा अन्यत्र जान त्यो उहाँको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन।
सिङ्गापुर सरकारले उहाँलाई निजी भ्रमणका लागि आफ्नो देशमा प्रवेश दिएको बताएको छ।
यसअघि उहाँले बुधवारभित्र राजीनामा दिने बताउनुभएको थियो। तर उहाँले बुधवार त्यस्तो कुनै पत्र पठाउनुभएन।
यद्यपि बिहीवार अबेर श्रीलङ्काको संसद्का सभामुखले राजपक्षले राजीनामापत्र पठाएको जानकारी दिनुभएको छ।
राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट जोगिन विदेश भागेको अनुमान गरिएको छ।
उहाँ सिङ्गापुरमा उत्रिएको पुष्टि गर्दै त्यहाँको विदेश मन्त्रालयले भनेको छ, “उहाँले शरण माग्नुभएको छैन, न त उहाँलाई कुनै शरण दिइएको छ। सिङ्गापुरले सामान्यतः शरणको अनुरोध स्वीकार गर्दैन।”

कोलम्बोमा हर्ष मनाउँदै प्रदर्शनकारीहरू
राजधानी कोलम्बोमा हर्षित प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामाको खबरलाई स्वागत गरेका छन्।
कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घ शपथग्रहण नगरेसम्म औपचारिक रूपमा अन्तरिम राष्ट्रपति बन्नुहुने छैन।
शपथ लिएपछि संसद्बाट अनुमोदित हुन उहाँसँग ३० दिनको समय हुनेछ।
यदि उहाँ अनुमोदित हुनुभएन भने सांसदहरूले नयाँ राष्ट्रपतिका लागि मतदान गर्न आवश्यक हुन्छ।
श्रीलङ्कामा कर्फ्यू
राष्ट्रपति राजपक्षले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ कार्यवाहक राष्ट्रपति नियुक्त भएको समाचार आयो।
त्यसपछि विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गर्नुभयो। उहाँले बिहीवार दोस्रो दिन कर्फ्यू घोषणा गरेका बेला राजपक्ष माल्दिभ्सबाट सिङ्गापुरतर्फ लागेको खबर आएको थियो।

विक्रमसिङ्घले स्थानीय समयानुसार बिहीवार १२ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्मका लागि कर्फ्यू घोषणा गर्नुभएको छ।
अहिले श्रीलङ्कामा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले विक्रमसिङ्घको पनि राजीनामा मागिरहेका छन्।
राजपक्षलाई कसले देला आश्रय ?
कोलम्बोस्थित बीबीसी एशिया डिजिटल रिपोर्टर टेसा वङको विश्लेषण
गोटाबय राजपक्ष अब कहाँ जानुहोला भन्ने धेरैको जिज्ञासा छ। तर सोधिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न उहाँलाई कसले आश्रय देला भन्ने हो।
राजपक्ष अहिले सिङ्गापुरतर्फ लाग्नुभएको छ। त्यो उहाँको मध्यपूर्व जाने ट्रान्जिट मात्र हो वा उहाँ त्यहीँ बस्नुहुन्छ भन्ने स्पष्ट छैन। अनि बसिहाले भने त्यहाँ कति समयका लागि बस्नुहुन्छ भन्ने पनि थाहा छैन।
तर स्रोतहरू के भन्छन् भने सिङ्गापुर सरकारले उनलाई त्यहाँ लामो समयसम्म बस्न दिन्छ भन्ने कुरा सन्देहपूर्ण छ।
उक्त समृद्ध सानो राष्ट्रले विगतमा विवादास्पद व्यक्तित्वहरूलाई बस्न दिएका उदाहरणहरू छन्। उदाहरणका लागि, सिङ्गापुरमा बर्माका सैन्य नेता थेन सेन, जिम्बाब्वेका रोबर्ट मुगाबे र उत्तर कोरियाका किम जङ(अन पनि त्यहाँ बस्नुभएको थियो।
तर राजपक्षलाई लामो समयसम्म आश्रय दिन उनीहरू पनि तयार नहुन सक्छन्।
किनभने राजपक्ष युद्धअपराधको आरोप लागेका व्यक्ति हुनुहुन्छ। त्यसले गर्दा उहाँ विश्वव्यापी गहिरो छानबिनको दायरामा जान सक्नुहुन्छ।

राजपक्ष दम्पती
उहाँ देश आर्थिक रूपले ध्वस्त भएका बेला भाग्नुभएको छ। सिङ्गापुरले त्यति धेरै अन्तर्राष्ट्रिय आलोचनलाई पक्कै थाम्न सक्नेछैन।
सिङ्गापुरका अधिकारीहरूले आफ्नै जनताबाट पनि आलोचना खेप्नुपर्नेछ किनकि पछिल्ला वर्षहरूमा सिङ्गापुरका जनताहरू पनि निकै मुखर बन्न थालेका छन्।
उक्त देशमा उल्लेख्य मात्रामा तमिल समुदायका मानिसहरू छन्। तीमध्ये कतिपय श्रीलङ्कासँग परम्परागत सम्बन्ध भएकाहरू पनि छन्।
राजपक्ष रक्षामन्त्री भएका बेला हजारौँ तमिल सर्वसाधारणको हत्या गर्न उहाँले अनुमति दिएको आरोप पनि लाग्ने गरेको छ।
उहाँको उपस्थितिले सिङ्गापुरस्थित कैयौँ तमिलहरू क्रुद्ध हुनेछन्। त्यसले त्यहाँ कायम शान्ति खल्बलिन सक्छ।
प्रदर्शनकारीको मृत्यु
कोलम्बोमा बुधवार भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको तथा अन्य ८४ जना घाइते भएको अस्पतालका अधिकारीहरूले बताएका छन्।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्दा २६ वर्षीय एक व्यक्तिको श्वासप्रश्वाससम्बन्धी कठिनाइका कारण निधन भएको बताइएको छ।
कोलम्बो न्याश्नल हस्पिटलका अधिकारीहरूका अनुसार घाइते हुनेहरूमा प्रधानमन्त्री कार्यालयबाहिर र साँझ संसद् भवनबाहिर प्रदर्शन गर्नेमध्येका छन्।

प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गर्नुअघि उक्त भवनको मुख्यद्वार खोल्न खोज्ने प्रदर्शनकारीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। उनीहरू पछि संसद् भवनतर्फ पनि उस्तै प्रदर्शन गर्न गएका थिए।
बीबीसीसँग कुराकानी गरेका एक सैन्य प्रवक्ताले घाइते हुनेहरूमा सैनिक र प्रहरी अधिकृतहरू पनि रहेको बताउनुभएको छ।
उहाँले गोलाबारुदसहितको एउटा राइफल चोरिएको र अहिलेसम्म त्यो कहाँ छ भन्ने पत्ता नलागेको आरोप लगाउनुभएको छ।
देशमा उत्पन्न आर्थिक सङ्कट र चरम महँगीका लागि धेरैले राजपक्ष सरकारलाई दोष दिने गरेका छन्।
बुधवारको टेलिभिजन सम्बोधनमा विक्रमसिङ्घले आफ्नो कार्यालयसहित अन्य सरकारी भवनहरूबाट पछि हट्न र अधिकारीहरूलाई सहयोग गर्न प्रदर्शनकारीलाई आह्वान गर्नुभएको थियो।
उहाँले सेनालाई ‘सुव्यवस्था कायम गर्न जे आवश्यक हुन्छ त्यही गर्न’ आदेश दिनुभएको थियो।
राष्ट्रपति देशबाट बाहिरिएपछि श्रीलङ्कामा सम्भावित शक्ति सङ्कट उत्पन्न हुन सक्ने देखिएको छ।
तर देशलाई आर्थिक सङ्कटबाट पार लगाउन त्यहाँ एउटा पूर्णरूपमा काम गर्न सक्ने सरकार आवश्यक छ।
अन्य दलका नेताहरू नयाँ सर्वदलीय सरकार बनाउनका लागि छलफलमा छन् तर हालसम्म उनीहरू कुनै सम्झौतामा पुगेको जस्तो सङ्केत देखिएको छैन।
उनीहरू सहमत हुने कुरालाई जनताले स्वीकार्छन् वा स्वीकार्दैनन् भन्ने पनि स्पष्ट छैन।
बुधवार एउटा प्रेस वक्तव्यमा विक्रमसिङ्घको समूहले उहाँले संसद्का सभामुखलाई नयाँ प्रधानमन्त्री मनोनयन गर्न भनेको जनाएको थियो।
तर त्यस्तो व्यक्ति ूसरकार र प्रतिपक्ष दुवैका लागि स्वीकार्य हुनुपर्नेू भनिएको त्यसमा उल्लेख छ।
गत सोमवार प्रमुख प्रतिपक्षी नेता सजित प्रेमदासले आफू राष्ट्रपति बन्न तयार रहेको बीबीसीलाई बताउनुभएको थियो। तर उहाँलाई पनि जनसमर्थन छैन।
श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा
टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २।२ करोड छ। तीनवटा जातीय समुदाय ( सिन्हाला, तमिल र मुस्लिम) ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन् V
राष्ट्रपतिको शक्ति: श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुनुहुन्छ। तर उहाँले संसद्मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ ।
शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक हुनुभयो। त्यतिबेला रक्षामन्त्री रहेका उहाँका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति हुनुहुन्छ ।
आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन् ।


















