Prakash Adhikari July 15, 2022

 

काठमाडौं, ३१ आषाढ । चिनियाँ नेताहरू चारदिने नेपाल भ्रमणबाट स्वदेश फर्किएको भोलिपल्टै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जान लागेको खबर सार्वजनिक भएको छ।

तर झन्डै डेढ महिनाअघि आएको निम्तोअनुसार शुक्रवारबाट हुन लागेको भनिएको उक्त भ्रमणको उद्देश्यबारे सोध्दा उनकै दलका कतिपय वरिष्ठ नेताहरू बेखबर रहेको पाइएको छ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड नयाँ दिल्ली जान लागेको उनी निकटस्थ नेताहरूले जनाएका छन्।

दिल्लीमा उहाले एउटा कार्यक्रमलाई सम्बोधन गर्ने भनिएको छ। तर भेटघाटको विस्तृत कार्यक्रम सार्वजनिक भइसकेको छैन।

माओवादी नेताहरूको भनाइ

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुखले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ताहरू गरेर फर्किएलगत्तै प्रचण्ड नयाँ दिल्ली जान लाग्नुभएको हो।

नेकपा माओवादीका विदेश विभाग उपप्रमुख राम कार्की अध्यक्ष प्रचण्डको भारत भ्रमणबारे आफूलाई जानकारी नभएको बताउँनुहुन्छ।

उहाँले बीबीसीसँग भन्नुभयो, “यसबारे पहिला केही पनि चर्चा नै थिएन। भ्रमणबारे मलाई थाहा छैन।”

चिनियाँ नेताहरूको भ्रमणसँगै प्रचण्डलाई दिल्लीमा आमन्त्रण गरिएको हुनसक्ने सङ्केत गर्दै उहाँले थप्नुभयो, “भारतले चाँडै प्रतिक्रिया जनाउने गर्छ।”

सोमावार चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियानछाओ सहितको प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको थियो।

त्यसमा नेपालको असंलग्न विदेशनीति र वाम दलहरूबीचको एकतासहितका विषयमा छलफल भएका विवरणहरू आएका छन्।

चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटको भोलिपल्टै काठमाडौंस्थित भारतीय राजदूतले प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएको माओवादी केन्द्रका अर्का नेताले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई बताउनुभएको छ।

यसै साता चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले प्रचण्ड र माओवादी केन्द्रका अरू नेतालाई भेटेका थिए

उहाँ भन्नुहुन्छ, “मैले बुझेसम्म भारतीय राजदूतले गएर निम्तो दिनुभएको हो। यो पूर्वनिर्धारित भ्रमण चाहिँ होइन। अहिले यो नयाँ भ्रमण नै हो। चिनियाँ नेतालाई भेटेपछि अकस्मात् निम्तो दिन आएका हुन्।”

भारत भ्रमणमा हुने भेटवार्ता र छलफलका विषयका बारेमा पनि हालसम्म नखुलाइएको उहाँले बताउनुभएको छ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भारतीय जनता पार्टीका अध्यक्षबाट करिब डेढ महिनाअघि नै भ्रमणको निम्तो आएको र अहिले भ्रमण हुन लागेको बताउनुभयो।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भाजपाका तर्फबाट डेढ महिनाअघि नै निम्तो आए पनि केन्द्रीय कमिटी बैठक भइरहेकाले पछि भ्रमण गर्ने जबाफ पठाइएको तर अहिले आएर भ्रमणमा जाने निश्चित भएको बताउनुभएको छ।

भ्रमणका क्रममा प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने सम्भावना रहेको मल्लले बताउनुभयो।

प्रचण्डको भ्रमणको अर्थ के हुन सक्छ ?

नेपाल भारत सम्बन्धमा दक्खल राख्ने देशसञ्चार डटकमका प्रधानसम्पादक युवराज घिमिरे प्रचण्डको दिल्ली भ्रमणलाई चीनसँग जोडेर हेर्नुपर्ने बताउँछन्।

“नेपालमा आफ्नो राजनीतिक र आधारभूत हितहरूलाई सुनिश्चित गर्न भारत र चीनबीच एक किसिमको प्रतिस्पर्धा छ। उनीहरूकोे नेपालका राजनीतिक दलहरूसँग एउटा नीतिगत र अरू स्थायी सम्बन्ध भएन। सत्ताको लागि सबै एक ठाउँमा आउने भए पनि दुवैले सबै पार्टीहरूसँग सम्बन्ध राख्नुपर्छ भनेर बुझेका छन् र त्यतातिर गइरहेका छन् भन्ने मलाई लाग्छ।”

उहाँले पछिल्लो पटक अमेरिकी रक्षा साझेदारी स्टेट पार्टनरशिप कार्यक्रमसम्म आइपुग्दा नेपालमा बढिरहेको अमेरिकी प्रभावका बारेमा पनि दिल्ली र बेइजिङ एक ठाउँमा उभिएको टिप्पणी गर्नुभयो।

“मलाई लाग्छ जब नेपाल सरकार अर्थात् प्रधानमन्त्री त्यसको पक्षमा देखिन थालेका थिए त्यस बेला भारत पहिलो पटक अमेरिका यो हदसम्म नेपालमा आउनु उसको सुरक्षा र सामरिक हितका लागि ठिक छैन भन्ने निष्कर्षमा पुग्यो”, उहाँले भन्नुभयो।

“उसले आफ्ना आधारभूत हित र स्वार्थका कुराहरू उसले सबै नेपालका महत्त्वपूर्ण दलहरूसँग कुरा गर्नुपर्ने अवस्था आयो।”

उहाँका अनुसार भारतको संस्थापनपक्ष र चीन दुवै अहिले नेपालमा आफ्नो पक्षमा उभिने कुनै पनि स्थायी शक्ति नरहेको ठान्छन्।

भाजपाका अध्यक्षको निम्तोमा प्रचण्ड नयाँ दिल्ली जान लाग्नुभएको हो

विगतमा राजसंस्था र नेपाली कांग्रेससँग मिलेर दुवै देशहरूले काम गर्ने गरेको भए पनि अहिले दुवै देशले चुनौती सामना गर्नु परिरहेको उहाँको विश्लेषण छ।

पत्रकार घिमिरेले भन्नुभयो, “राजतन्त्र भारतकै सक्रियतामा समाप्त भएको थियो। आफैँले अघि बढाएको भए पनि माओवादीको विश्वमान्यता भारतविरुद्ध देखियो। नेपाली कांग्रेस पनि अझै कमजोर भएर आएको अवस्था थियो। त्यही भएर अहिलेको परिस्थितिमा माओवादी कमजोर त भएको छ, तैपनि उसलाई आफ्नो विश्वासमा लिनु आवश्यक ठानेर प्रचण्डलाई निम्तो गरिएको जस्तो मलाई लाग्छ।”

नेपालका कुनै पनि स्थापित दल आफ्नो स्वार्थविपरीत नजाऊन् भन्ने उद्देश्य राखेर प्रचण्डलाई नयाँ दिल्लीमा आमन्त्रण गरिएको हुनसक्ने भन्दै पत्रकार घिमिरेले भन्नुभयो, “त्यो पनि चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख फर्किनेबित्तिकै हुन लागेको भ्रमणलाई चीनबाट टाढा राखेर अलग ढङ्गले हेर्न सकिँदैन।”

हिन्दू राष्ट्रवादी दलका रूपमा परिचित भाजपा आफ्नो देशका धार्मिक अल्पसङ्ख्यक त्यसमा पनि मुख्यतः मुस्लिमहरूप्रति अँगालेको नीतिका कारण आलोचित रहँदै आएको छ।

गएको एप्रिलमा भारतको भ्रमण गर्दा प्रधानमन्त्री देउवाले भाजपाको मुख्यालयको भ्रमण गर्नुभएको थियो

 

धर्मबारे कुरा होला ?

नेपालमा दशवर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्ड धर्मनिरपेक्षताको पक्षमा पैरवी गर्ने नेताका रूपमा चिनिनुहुन्छ।

नेपालमै नेपाली कांग्रेसलगायत कतिपय दलभित्र धर्मनिरपेक्षताको विपक्षमा आवाज उठिरहेको बेलामा प्रचण्डलाई निम्तो दिएर भारतको सत्तारूढ दलले उक्त दलको धर्मसम्बन्धी मान्यताबारे कुरा बुझ्न चाहेको हुनसक्ने पत्रकार घिमिरेको अनुमान छ।

ूनेपाल बहुसङ्ख्यकको हिसाबले हिन्दू समाज हो। त्यसलाई विखण्डित गर्दाका अरू परिणति जुन छन् त्यसप्रति उनीहरूको चिन्ता बढेको जस्तो देखिन्छ। मलाई लाग्छ आफ्ना रणनीतिक र सामरिक हितका विषयहरू पनि भारतले उठाउँछ।ू

अहिले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले विगतमा भारतका समाजवादी दलहरूसँग एकदमै निकटको सम्बन्ध राख्ने गरेको थियो।

गएको एप्रिलमा भारत भ्रमण गर्दा प्रधानमन्त्री देउवाले भाजपाको मुख्यालय भ्रमण गरी आफ्नो दलले भारतको सत्तारूढ दलसँग भातृसम्बन्ध स्थापित गर्ने प्रतिबद्धता जनाएका विवरण आएका थिए।

नेपालका वामपन्थी दलहरूले चिनियाँ कम्युनिस्ट पार्टीसँग एक खालको भातृसम्बन्ध रहेको बताउने गरेका छन्।

यसै साता नेपालको भ्रमण गरेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेपालका सबै दलसँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताएको सीपीसीको अन्तर्राष्ट्रिय विभागको वेबसाइटमा जनाइएको छ।

Share Now

Leave a comment.