काठमाडौं, ३१ आषाढ । नेपाली कांग्रेसकी सचेतक रहनुभएकी पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित हुनुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार भुसालको पक्षमा १ सय ४८ मत परेको थियो ।
उहाँलाई सभामुख निर्वाचित गरियो भन्ने प्रस्तावको विपक्षमा ९३ मत परेको थियो ।
नेपाल मजदूर किसानका सांसद प्रेम सुबाल भने तटस्थ बस्नुभएको थियो ।
उपसभामुखमा सत्तारुढ गठबन्धनले नेका नेतृ भुसाल र नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएका थिए ।
भुसाललाई गठबन्धनका नेपाली कांग्रेससहित नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी , लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
नेकपा एमालेकी विद्या भट्टराईलाई नेकपा एमालेका अतिरिक्त राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन थियो ।
विजयी बनेपछि उहाँले प्रतिनिधि सभाको बैठक सञ्चालनमा, प्रतिनिधिसभालाई प्रभावकारी बनाउने कार्यमा र संवैधानिक परिषद्को बैठक सुचारु गराउन महत्वपूर्ण योगदान गर्ने बताउनुभएको छ ।
उपसभामुखमा पुष्पा भुसाललाई चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन ।
तात्कालीन सभामुख कृष्णबहादुर महराले यौनकाण्डमा मुछिएर राजिनामा दिएपछि खाली भएको सभामुख तात्कालीन नेकपाकै पक्षमा राख्न २०७६ साल माघ ६ गते नेकपाको तर्फबाट प्रस्तावित भएर उपसभामुखमा निर्वाचित तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि यो पद अहिलेसम्म खाली रहेको थियो ।
उपसभामुखको पद खाली रहदा संसद सञ्चालन गर्न र संबैधानिक परिषद्को बैठक सञ्चालन गर्न पनि कठिनाई उत्पन्न भएपछि सत्तारुढ गठबन्धनको साझा सहमतीमा उपसभामुखको निर्वाचन गरिएको हो ।
उपसभामुखको अनुपस्थितिमा संबैधानिक परिषद्को बैठक सञ्चालन गर्न ऐनमा गर्न लागिएको संशोधन आलोचित भएपछि सरकार र गठबन्धनका नेताहरुलाई उपसभामुखको निर्वाचन गर्न दबाव परेको थियो ।
तोकिएको समयमा निर्वाचन भए लामो समय रिक्त रहेको उपसभामुख पदमा निर्वाचित भुसालको कार्यकाल ६ महिनाको हुनेछ।
भुसालको प्रयास
नेपाली कांग्रेसकी नेत्री भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुभएको हो। यसअघि उहाँ तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका डा. शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुनुभएको थियो।
तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्नुहुँदा भुसालले ५८ मत प्राप्त गर्नुभएको थियो।
२०७६ साल माघ ६ गते उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुभएपछि उक्त पद रिक्त थियो। तुम्बाहाङ्फेले राजीनामा दिनुभएको करिब साढे दुई वर्षपछि उपसभामुखको पदपूर्ति भएको हो।
अध्यापन र कानून क्षेत्रको पनि अनुभव
विद्यार्थीकालदेखि नैै राजनीतिमा सक्रिय नेपाली कांग्रेसकी नेत्री भुसालसँग लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको र प्रतिरक्षी कानून व्यवसायीको रुपमा काम गरेको अनुभव छ।
भुसालले समाजशास्त्रमा एमफिल गर्नुभएको छ। २०२८ पछि राजनीतिक आन्दोलनमा सक्रिय रहनुभएको भुसाल। २०४६ सालको आन्दोलनमा अग्रपडि.तमा रहनुभएको थियो । त्यसपछि उहाँ निरन्तर महिला आन्दोलन र सामाजिक आन्दोलनमा सक्रिय हुनुहुन्छ। उहाँसँग लामो समय कांग्रेसको महिला र कानुन विभागमा काम गरेको अनुभव छ।
संसद् यात्रा
भुुसाल पहिलो पटक वि.सं. २०५६ को संसदीय निर्वाचनमा अर्घाखाँची–२ बाट प्रतिस्पर्धा गर्नुभएको थिो तर पराजित हुनुभयो।
नेत्री भुसाल पहिलो पटक पहिलो संविधानसभाका लागि अर्घाखाँचीबाट निर्वाचित हुनुभएको हो। दोस्रो संविधानसभाको निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो। पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएको हो।
प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार भुसालले बिहीबार उपसभामुखका लागि मनोनयन दर्ता गराउनुभएको हो।
बुबा नै वीपी सरकारको स्वास्थ्य राज्यमन्त्री
नेत्री भुसालको पारिवारिक पृष्ठभूमी नै राजनीतिक रहेको छ । उहाँका पिता काशीनाथ गौतम नेपालको पहिलो जननिर्वाचित सरकारको मन्त्रिपरिषदमा स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो।
बीपी कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य राज्यमन्त्री हुनुभएका उहाँका बुवा काशीनाथ २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले निर्दलीय पञ्चायती व्यवस्था सुरुवात गरेपछि निर्वासनका लागि भारत पुग्नुभएको थियो।
त्यो समयमा भुसालको परिवार १४ वर्षसम्म भारतमा बसेको थियो। उहाँको बाल्यकाल केही समय भारतमै बितेको देखिन्छ।


















