काठमाडौं ३१ आषाढ। सरकारले नेपाल आयल निगमलाई कर समायोजन गरिएको रकम भुक्तानी दिने भएको छ ।सरकारको यो निर्णयले वित्तीय अवस्था खराब हुँदै गएको नेपाल आयल निगमलाई केही राहत हुने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा करबाफत मूल्य समायोजन भएको रकम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।
सत्तारुढ दलले असार ११ गते पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।
निगमले पेट्रोलको मुल्य २० रुपैयाँ र डिजल र मट्टीतेलको २९ रुपैयाँले घटाइएको थियो । यस्तै, जेठ १९ गते पनि पूर्वाधार कर बाफतको पैसाबाट अर्थमन्त्रालयले सोधभर्ना गर्नेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको थियो ।
सरकारले पेट्रोलियम पदार्थमा कर समायोजन गर्नु भन्दा पनि कर बाफतको पैसा सोधभर्ना दिने नीति लिएको छ ।
नेपालमा भारत भन्दा पेट्रोलियम पदार्थको मूल्य महँगो भएपछि मूल्य समायोजन गर्नु पर्ने दबावमा सरकार परेको थियो ।
पछिल्लो मूल्य समायोजनपछि पनि सीमावर्ती भारतीय बजार भन्दा नेपालमा पेट्रोल ६।२३ रुपैयाँ र डिजल १८।५६ रुपैयाँ महँगो छ ।
रक्सौलमा पेट्रोलको मुल्य १७४।७७ रुपैया र बीरगञ्जमा १८१ रुपैया छ । यस्तै रक्सौलमा डिजलको मूल्य १५३।४४ रुपैयाँ हुँदा बीरगञ्जमा १७२ रुपैयाँ छ ।


















