काठमाडौं, ११ असोज । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सहज जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ ले पराजित गरेको हो ।
खेलको १८ औं मिनेटमा नेपालकका अन्जन विष्टले पहिलो गोल गरेका थिए । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकमाउ उनले हेडर गोल गरेका हुन् ।
पहिलो गोलको ९ मिनेटपछि अन्जनले नै दोस्रो गोल गरे । विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । रिबाउन्ड आएको बललाई अन्जनले सहजरुपमा गोल गरे ।
खेलको ३८औं मिनेटमा अन्जनले अर्को गोल गरी पूर्वार्धमा नै ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्याए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अन्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे ।
अन्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो ।
ह्याट्रिक गर्ने छैठौ खेलाडी
नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बने । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुग २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।
बंगलादेशको एक गोल
खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए । रकिब हुसैनले लेफ्ट साइडबाट गरेको क्रसलाई सेसेहाङ आङदेम्बेले क्लियर गर्न नसक्दा बादशाहले उत्कृष्ट डाइभ हेडर गोल गरे ।
यसअघि खेलको १७औं मिनेटमा बंगलादेशी कप्तान जमल भुयानले करिब २२ यार्ड परबाट गरेको प्रहार लेफ्ट बारमा लागेर बाहिरिएको थियो । ५४औं मिनेटमा तेज तामाङ १८ यार्ड बक्सको राइड साइडबाट गरेको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरिएको थियो ।
ऋतिक खड्का र आशिष चौधरीको डेब्यू
युवा फरवार्ड ऋतिक खड्कार आशिष चौधरीले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका छन् । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै एकसाथ डेब्यू गरे ।
ऋतिक सेसेहाङ आङदेम्बे र आशिष विमल घर्ती मगरको स्थानमा ८४ मिनेटमा मैदान प्रवेश गरेका हुन् ।


















