Prakash Adhikari September 30, 2022

काठमाडौं, १४ असोज । सत्ता गठबन्धनमा सम्मिलित ५ दलहरुबीच सीट बाँडफाँटमा लगभग सहमति भएको जनाइएको छ । दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहालका स्वकीय सचिव रमेश मल्लले लामो गृहकार्य र बैठकपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको बताउनुभएको छ।

केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबी शीर्ष नेतृत्वबीच आपसी समझदारीमा छिट्टै टुंगो लगाइने बताइएको छ।

सहमती अनुसार कांग्रेसले ८७, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको बताइएको छ।

निर्वाचन क्षेत्रगत हिसाबमा खोटाड., अछाम–१, बारा–४, धादिङ–१, सल्यान, नवलपरासी पश्चिम, रुपन्देही–१, धनुषा–३, महोत्तरी–३ र दैलेख–१ मा दलहरुले दोहोरो दाबी गरिरहेका छन्।

माओवादी केन्द्रले उपत्यकामा काठमाडौं २ र ९ लिने सहमति भएको छ। यस्तै ललितपुर–३ पनि लिनेछ।

प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ। झापा–१ छोडेर माओवादीले २ र ५ लिएको छ।

कांग्रेसको भागमा परेका क्षेत्रहरु

जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, ३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ–१, २, ३ र ६, सुनसरी–२, ३ र ४, ओखलढुंगा, उदयपुर–१ लिनेगरी सहमति भएको छ।

मधेश प्रदेशमा कांग्रेसले सप्तरी–३, सप्तरी–४, सिरहा–१ र २, धनुषा–२, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ लिने भएको छ।

त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१, ३, ४, ५, ६, १०, भक्तपुर– १ र २, ललितपुर–१, काभ्रे–१, सिन्धुपाल्चोक–२, नुवाकोट–२, मकवानपुर–१, चितवन–१ र २ लिने भएको छ।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ। लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया–१, नवलपरासी पश्चिम २ लिने भएको छ।

त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ। सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम २, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कञ्चनपुर–२ र ३ लिने भएको छ।

माओवादीलाई कुन कुन ?

सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झाप–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ। यसमध्ये खोटाङ र उदयपुर(२ मा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ।

प्रदेश २ मा सिरहा–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३ लिने भएको छ। सर्लाही–२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ। त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ। धादिङ–१ मा भने एकीकृत समाजवादीले पनि दाबी गरेका छन्।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपीलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कंचनपुर–१ लिने भएको छ।

अछाम १ मा एकीकृत समाजवादीको पनि दाबी रहेको छ।

एकीकृत समाजवादीको भागमा परेका क्षेत्र

एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ। जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–४, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ।

अछाम–१ मा भने माओवादीको पनि दाबी रहेको छ।

जसपालाई कुन कुन क्षेत्र ?

जसपाले १६ सिट लिनेगरी सहमति भएको स्रोतले जानकारी दिएको छ। जस अनुसार सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ लिनेगरी सहमति भएको छ।

जसमध्ये धनुषा–३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ। त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ।

राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ।

समानुपातिक तर्फको बन्दसूची सच्याउने अन्तिम मिति असोज १६ रहेको र प्रत्यक्षतर्फको उम्मेद्वारी दिने समय असोज २३ गते रहेकोले दलहरुलाई अहिले चटारो परेको छ ।

 

Share Now

Leave a comment.