Prakash Adhikari October 26, 2022

काठमाडौं, ९ कार्तिक । हरेक चार वर्षमा धेरैको नजर टेलिभिजनको पर्दामा तान्ने विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालमा उपभोक्ताहरूले यसपालि ५ सय रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ।

यसअघि नियमित शुल्कमै विश्वकप हेरिरहेका उपभोक्ताहरूले अतिरिक्त शुल्क लिइनुको कारणबारे प्रश्न गरेका छन्।

विश्वकप फुटबल प्रतियोगिता प्रत्यक्ष प्रसारणको अधिकार लिएको मिडिया हबले नेपालमा विश्वकप फुटबलको प्रसारण अधिकारका लागि तिर्नुपर्ने शुल्क महँगो भएका कारण उपभोक्ताबाट रकम उठाउन लागिएको दाबी गरेको छ।

तर वितरककै अनुसार विश्वकप हेर्नका लागि अतिरिक्त शुल्क उठाउने अनुसार प्रसारण अधिकार र प्रचारप्रसार खर्च बाहेक थप १० करोड रुपैयाँभन्दा बढी रकम उपभोक्ताहरूबाट जम्मा हुनसक्छ।

यो पटकको विश्वकप फुटबल आगामी महिना कतारमा सुरु हुँदै छ।

किन लिइयो शुल्क ?
भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न र विश्वकपको प्रचार प्रसार गर्न समेत गरी ४० देखि ४१ करोड रुपैयाँसम्म खर्च हुने मिडिया हबको दाबी छ।

तर यो खर्चको नेपालको टेलिभिजनलाई प्रसारण अधिकार बिक्री र विज्ञापनबाट मात्रै लागत नउठ्ने भएपछि ग्राहकहरूसँग रकम उठाउन लागिएको मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले बताए।

“विश्वकपलाई विज्ञापनको मोडलबाट मात्रै व्यावसायिक बनाउन सकिएन। दर्शकहरूसँग नचाहँदा नचाहँदै पनि केही पैसा लिनुपर्ने निर्णयमा हामी पुग्यौँ “, धितालले भन्नुभएको छ ,”अब दर्शकहरूले विश्वकप हेर्न एउटा सेट अप बक्स बापत ५ सय रुपैयाँ तिर्नपर्छ।”

विश्वकप ट्रफी

विश्वकप ट्रफी

नेपालमा २० देखि २१ लाखसम्म टेलिभिजन सेट अप बक्सहरू रहेको र त्यसमध्ये १० देखि १२ लाख टेलिभिजन प्रयोगकर्ताहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने अनुमान मिडिया हबले गरेको छ।

नाफा कति हुन्छ ?

मिडिया हबको प्रक्षेपण अनुसार १० लाख प्रयोगकर्ताहरूले मात्रै विश्वकप हेर्न शुल्क तिरे ५० करोडसम्म उठ्ने देखिन्छ।

त्यसबाहेक विश्वकपको बिचमा प्रसारण गरिने विज्ञापन र टेलिभिजनलाई प्रसारण अधिकार दिन मिडिया हबले थप शुल्क लिन्छ।

मिडिया हबका अध्यक्ष धितालका अनुसार नेपालमै प्रसारण अनुमति लिइएपछि विश्वकप फुटबल प्रसारण गर्ने विदेशी च्यानलहरू नेपालका टेलिभिजनहरूमा नआउने भएका छन्।

“हामीले हिमालय टेलिभिजनलाई प्रसारण अधिकार दिँदै छौँ। त्यहाँबाट मात्र विश्वकप प्रसारण हुन्छ। अरू विदेशी च्यानल हाम्रोमा आउँदैन”, मिडिया हबका अध्यक्ष धितालले भन्नुभयो।

हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो ।

फुटबलको अन्तर्राष्ट्रिय सङ्गठन फिफाले दक्षिण एसियाका लागि प्रसारण एकाधिकार दिएको भायकमले नै प्रसारण अधिकार नलिएका देशहरूमा विश्वकप आउने च्यानल उपलब्ध नगराउने धितालको दाबी छ।

मिडिया हबले विश्वकप फुटबलको लागि अतिरिक्त शुल्क पठाउने जिम्मा केबल र डिस टेलिभिजन प्रसारकहरूलाई दिने भएको छ।

उपभोक्तामाथि ठगी

एक जना उपभोक्ता अधिकारकर्मीले विश्वकप फुटबलको प्रसारणका लागि उपभोक्ता र विज्ञापन दुवैबाट शुल्क उठाएर मुनाफा कमाउने कार्य ठगी भएको दाबी गर्नुभएको छ ।

“विज्ञापन पनि लिने अनि उपभोक्ताबाट पैसा पनि उठाउने काम चाहिँ ठगी हो। यसलाई सरकारले हस्तक्षेप गरेर नियमन गर्नुपर्छ”, कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले भन्नुभयो,”नियमन नभए त कुनै सूचना दिन पनि उहाँहरूले अतिरिक्त शुल्क लिने दिन आउँछ।”

विश्वकप

तर प्रसारण अधिकार लिएको मिडिया हबका अध्यक्ष धिताल यस्तो आरोप अस्वीकार गर्नुहुन्छ।

“उपभोक्ताहरूले यसअघि सित्तैमा हेर्न पाउनुभएकाले यो पटक पनि सित्तैमा हेर्न पाउनुपर्छ भन्ने उहाँहरूको आग्रह स्वाभाविक हो। तर यो पल्ट त्यो अवस्था बनेन।”

नयाँ अभ्यास होइन
शुल्क तिरेर मात्र महत्त्वपूर्ण कार्यक्रमहरूको प्रसारण हेर्न मिल्ने अभ्यास नयाँ नभए पनि नेपालमा पहिलो पटक भएको केवल टेलिभिजन सेवा प्रदायकहरूको दाबी छ।

“विदेशमा एउटै कतिपय प्रतियोगितामा एउटै खेलको पाँच देखि छ डलर तिरेर हेर्नुपर्ने पनि छन्। यो नयाँ कुरा हुँदै होइन संसार भरि त्यसरी नै हेरिन्छ नेपालमा चाहिँ पहिलो पटक हो”, नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष सुधीर पराजुलीले भन्नुभयो,”विदेशमा सञ्चालन भएका कतिपय कार्यक्रमहरू अहिले पनि नेपालमा आउँदैनन्। एउटा नेपाली कम्पनीले नै ल्याएर देखाउन लागेपछि यसलाई हामीले प्रवर्द्धन गर्नुपर्छ।”
(बीबीसी नेपालीबाट)

Share Now

Leave a comment.