काठमाडौँ, ५ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरु भएको छ। काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरू गरिएको हो।
सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो।
चार स्थानमा मतगणना सुरु गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ।
सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा ९एमाले०का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन्।
ललितपुर निर्वाचन क्षेत्र नं ३ को पनि मतगणना सुरू भएको छ। निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो।
ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो।
मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ। अहिले एक ठाउँबाट मात्र गणना सुरू गरिएको छ।
सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, नेकपा ९एमाले०का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन्।।
ललितपुर निर्वाचन क्षेत्र नं २ को पनि मतगणना सुरू भएको छ। ललितपुरको सादोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को परिसरमा रहेको मतगणनास्थलमा मतगणना थालिएको छ।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार एउटै हलमा चार वटा गणनास्थल बनाएर मतगणना सुरु गरिएको हो। सर्वदलीय सहमतिपछि बिहान ४ बजेदेखि मतगणना थालिएको उहाँले जानकारी दिनुभयो।
सो क्षेत्रको प्रतिनिधिसभामा नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जन र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णलाल महर्जन चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।
भक्तपुरमा क्षेत्र नं २ को पनि मतगणना सुरू भएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरू भएको हो।
भक्तपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा ९एमाले०कातर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ।
भक्तपुर क्षेत्र नं १ को आज बिहान ७ बजेदेखि मतगणना सुरू गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।


















