Prakash Adhikari March 24, 2018

काठमाडौ, ९ चैत्र ।नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वाम गठबन्धनको सत्ताको प्रभाव र दबाबलाई थेग्न नेपाली कांग्रेसले नयाँ ढंगले नीति, संस्कार, व्यवहार, निर्णय प्रक्रिया र सिद्धान्तमा आमूल परिवर्तन ल्याउन पर्ने बताएका छन् ।

शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आरम्भ भएको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा निर्वाचनका सम्बन्धमा शुक्रबार आफ्नो विचार राख्दै नेता सिटौलाले यस्तो विचार राखेको हुन्

बैठका उनले निर्वाचनमा पार्टी पराजित हुनुमा पार्टीले गरेका कामको जस लिन नसक्नु पनि प्रमुख कारण रहको बताए । संविधान घोषणा हुन नदिने ठूलो दबाब भए पनि तत्कालीन पार्टी सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरिए पनि पार्टी नेतृत्वले त्यसको जस लिन नचाहनु दुखद् पक्ष रहेको उनले उल्लेख गरेका थिए ।

उनले संविधान जारी भएपछि सत्ता समीकरणको खेलमा नेतृत्वले गम्भीर त्रुटि गरेको जिकिर गर्दै त्यसबेला पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्रीमा उठेपछि कांग्रेसलाई ठूलो क्षति भएको बताए।

उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबै कम्युनिस्ट पार्टीहरूको हातमा लैजान सभापति देउवा र नेता रामचन्द्र पौडेलको हात रहेको दाबी गरे।

उनले प्रश्न गरे, ‘सुशीलदा’लाई प्रधानमन्त्रीमा उठाउन शेरबहादुरजी प्रस्तावक र रामचन्द्रजी समर्थक बस्नुभएको हो कि होइन?’ एमालेलाई प्रधानमन्त्री दिएर कांग्रेसले राष्ट्रपति नलिँदा गम्भीर त्रुटि भएको र त्यसको मनोवैज्ञानिक असर पार्टीका कार्यकर्ता, आमनागरिक, प्रहरी, प्रशासन, उद्योग व्यापार, संचार क्षेत्रमा परेको उनले बताए।

सिटौलाले प्रचण्डलाई प्रधानमन्त्री बनाएर उनलाई एक वर्ष अड्याउन नसक्नु, दिनेश कोइरालालाई भरतपुरको प्रमुखमा उम्मेदवार बनाएपछि प्रचण्डलाई खुसी बनाउने नाममा दिनेशको उम्मेदवारी रद्द गरी केन्द्रबाटै प्रचण्डकी छोरीलाई नगर प्रमुखमा समर्थन गर्नु कांग्रेस नेतृत्वको ऐतिहासिक भूल भएको आरोप लगाए।

उनले ‘कमल थापा नेतृत्वको राप्रपा, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र महन्थ ठाकुर नेतृत्वको राजपालाई कांग्रेसले समर्थन गर्नुपर्ने तर उनीहरूले हाम्रा उम्मेदवारलाई हराउन लाग्दा पनि रोक्न नसकनु पार्टी नेतृत्वको कमजोरी भएको बताए ।

उनले चुनावी रणनीति र तालमेल गर्न नेतृत्वले नजानेको आरोप पनि लगाए।

उनले चुनावमा संघीयता, समावेशी लोकतन्त्र, गणतन्त्र जस्ता कांग्रेसका एजेण्डा खोसिएको र तिनको अपनत्व लिन नसकेको, चुनाव व्यवास्थापनमा त्रुटि भएको, निर्णय प्रक्रियामा त्रुटि भएको, संसदीय बोर्ड र केन्द्रीय कार्य सम्पादन समिति विधानविपरीत गठन गरिएको, समानुपातिकको लिस्ट संसदीय समितिकै सदस्यलाई नदेखाई मनोमानी गरेको सिटौलाको आरोप थियो।

नेता सिटौलाले तीनै तहका निर्वाचनबाट कांग्रेसलाई ठूलो क्षति भएको, प्रदेश र केन्द्रमा प्रतिपक्षमा बसे पनि कांग्रेसको तागत कमजोर भएको उनले बताए।

पार्टीको महाधिवेशन तत्काल गर्नुपर्ने भन्दै सिटौलाले त्यो सम्भव नभए महासमिति बैठक बोलाउन माग गरे। संविधानको अक्षरश पालना वर्तमान सरकारबाट हुनेमा आशंका देखिएको भन्दै सिटौलाले भने, ‘चुनौतीलाई सामना गर्न महासमिति बैठकमा छलफलमा गर्ने एजेण्डा पदाधिकारीले केन्द्रीय कार्यसमितिमा ल्याउनुपर्छ। भीडबाट ताली बजाएर प्रस्ताव पारित गर्न पाइँदैन।

उनले पार्टी अब पुरानो संस्कारबाट नचल्ने बताउदै कांग्रेसभित्र सामन्ती संस्कारको अन्त्य नभएको उल्लेख गरे । पार्टी नेता सिटौलाले पार्टीभित्र नातावाद, कृपावाद, पैसावाद छ भनेर आलोचना हुने गरेको छ। उनले अब पार्टीको नीति, सिद्धान्त, संस्कार, व्यवहार, संरचना र नेतामा परिवर्तन हुनुपर्ने भन्दै पदाधिकारीहरू अब कोषाध्यक्षको राष्ट्रिय भेला जता हुन्छ, उतै लुरुलुरु गएर पार्टी गतिशील नहुने बताए।

उनले भने, ‘जिल्ला कोषाध्यक्षलाई त पार्टीले कार्यक्रम दिएर बोलाउनुपर्छ, निर्देशन दिनुपर्छ। भोलि सचिवको, पर्सि सहसचिव र अर्को दिन उपसभापतिले राष्ट्रिय सम्मेलन भनेर बोलाउने अनि पदाधिकारी त्यतै दौडन मिल्दैन। कोषाध्यक्षको राष्ट्रिय भेला गर्ने प्रवाधान पार्टी विधानमा छैन।’

सिटौलाले पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीलाई पार्टी कब्जा गर्न खोजेको आरोप लगाउदै भने, ‘सभापतिज्यू तपाईंसहित चाररपाँच जना पदाधिकारी मिलेर पार्टी नै कब्जा त गर्न सक्नुहोला तर वामपन्थीको कब्जाबाट मुलुकलाई मुक्त गर्न सक्नुहुन्छरु’

बैठकपछि संचारकर्मीसँग सिटौलाले निर्वाचनमा पार्टी पराजित हुँदासमेत पदाधिकारीमा पार्टी र मुलुकप्रति चिन्ता नभएकोमा दुःख व्यक्त गरेका थिए । उनले मट्याङ्ग्रे पार्टीको सभापति हुनुभन्दा त प्रभावशाली पार्टीको साधरण सदस्य भएर बस्नु उपयुक्त हुने सुझाव नेतृत्वलाई दिएका थिए।

उनले चुनाव सकिएको चार महिना बितिसक्दा पनि चुनावी समीक्षाका सम्बन्धमा प्रतिवेदन नै नआएको गुनासो गरे। शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु बैठक दिउँसो २ बजेसम्म चलेर स्थगित भएको थियो। पुनः ४ बजे बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले नाम नटिपाएपछि शनिबार ११ बजेसम्म स्थगित गरिएको थियो।

शुक्रबारको बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंह, सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले धारणा राखेका थिए।

Share Now

Leave a comment.