काठमाडौं, २४ मंसिर। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
बैंक अफ काठमाण्डूको साधारणसभाले पनि मर्जर एजेण्डा पारित गरेको छ।
साधारणसभाले मर्जर सम्बन्धि प्रस्तावमा छलफल गरी सर्वसम्मतरुपमा अन्तिम स्वीकृति दिएको हो।
सभाले चलरअचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।
साधारणसभाले बैकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्याउने प्रस्तावलाई समेत पारित गरेको छ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०७८।७९ को कुल मुनाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ।
बैंकले आर्थिक वर्ष २०७८र७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो।
प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो।
उहाँले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जानेसमेत बताउनुभयो।
बैंक अफ काठमाण्डूबाट पनि पारित
बैंक अफ काठमाण्डूको साधारण सभाबाट मर्जरसम्बन्धी निर्णय स्वीकृत भएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले शुक्रबार सम्पन्न २८औं वार्षिक साधारण सभाबाट मर्जरसम्बन्धी निर्णय गरेको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ।
सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ। सभाले २०७८ । ७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ।
साथै, विशेष प्रस्तावहरु अन्र्तगत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १ः१ मा रहि मर्जर सम्बन्धी विषयमा संचालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु उक्त सभाले पारित गरेको छ।
बैंकले हाल १ सय ४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ।


















