काठमाडौं, ९ पौष । ९ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ ।
उच्च सूत्रहरुले दिएको सूचना अनुसार तीन दलका तीन नेताहरुको बीचमा २ । २ । १ बर्ष प्रधानमन्त्री बन्ने सहमती जुटेको हो ।
तर पहिलो चरणमा संसदको सबैभन्दा ठूलो नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवा बन्ने कि सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन ।
आइतबार बिहान १० बजे बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउने र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गर्ने निर्णय समझदारी भने नेताहरुबीच भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांंग्रेसलाई संसदको सबैभन्दा ठूलो पार्टी बनाएर आम नेपाली जनताले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाएर देशमा सुशासन कायम गर्न जनादेश दिएकोले त्यसको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले पार्टीका नेताहरुले अहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने दबाव दिइरहेको बताउदै पहिले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नु लोकतान्त्रिक पद्धतिको मर्म अनुरुप हुने बताउनुभएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने को पहिले भन्ने विवादलाई ठूलो नबनाउन र आपसमा सहमति खोज्न सुझाव दिनुभएको छ ।
भोलि बिहानको बेठकले पहिले को प्रधानमन्त्री बनाउने भन्ने टुंगो लगाएसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको बाँडफाँट टुंगो लगाउने छ र अपरान्हसम्म राष्ट्रपतिसामु दावी पेश गरिनेछ ।
कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पनि भोलि सबै विषय टुंगिने दाबी गर्नुभएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले भन्नुभयो, ‘भोलिसम्म तपाईं धैर्य गर्नुस् यसमा हलो अड्किन्न, प्रधानमन्त्री को पहिले हुने भन्ने कुरा गौण कुरा हो, मुलुकलाई अहिलेको जनताको आकांक्षा अनुसार कसरी अगाडि बढाउने कुरा महत्वपूर्ण कुरा हो, गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ ।
‘हामीले जनताबाट प्रकट भएको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने भन्दै आजको बैठक सकिएको छ’ मन्त्री कार्कीले थप्नुभयो ।


















