काठमाडौं, १० पौष । बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । उहाँको पुस १० गते आईतबार बिहान निधन भएको हो । उहाँ ९५ बर्षको हुनुहुन्थ्यो ।
भोजपुरको दिंगलास्थित साल्मामा जन्मिनुभएका अध्यक्षले बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागी नेतृत्वदायी भुमिका निभाउनु भएको थियो ।
उहाँ सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत हुनुभएको थियो ।
देशमा परिआएको विभिन्न समस्या छानबिन तथा निरूपणका लागि शाही आयोगहरूमार्फत सेवासमेत प्रदान गर्नुभएका बस्नेतले
७० वर्षको उमेरमा बुध्द एयर स्थापना गर्नुभएको थियो ।
२५ बर्षसम्म बुद्ध एअर नेपालको अग्रणी हवाई सेवा प्रदायक कम्पनीको रुपमा स्थापित भएको छ ।
नेपालमा निजी क्षेत्रमा हवाई सेवा सञ्चालन गरी नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने र हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय उहाँलाई नै जान्छ ।
बुद्ध एअरले एक असल अभिभावक गुमाएकोमा दुःख प्रकट गर्दै उहाँ प्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेको छ ।


















