दुबाई(युनाइटेड अरब इमिरेट्स), २२ फागुन । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपाल घरेलु टोली युएईसँग भिड्दै छ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ः४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपाल र युएई दुवै देशका लागि यो खेल किन महत्वपूर्ण छ भने शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न दुवै टोली बाँकी ५ खेल जित्नुपर्ने दवावमा छन् ।
यसपछिका त्रिदेशीय खेल नेपालमा हुने भएकोले नेपाललाई बाँकी खेल जित्न सजिलो छ । कीर्तिपुरको मैदानमा नेपालले युएई भन्दा तगडा मानिएका र आईसीसी लिग २ को शीर्षमा रहेका स्कटल्याण्ड र नामिबियालाई चारवटै खेलमा पराजित गरेको थियो । आज नेपालले घरेलु टोली युएईलाई हराएमा नेपाल सिधै लिग २ को विश्वकप छनोट खेलमा सहभागी हुने संभावना बढ्छ । यसैले नेपाली टिममाथि खेल जित्ने दवाव रहेको छ ।
नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन पनि बाँकी पाँचमा तीन खेल जित्नुपर्ने हुन्छ ।
नेपालले युएई सिरिजका दुवै खेलमा हराएको पपुवा न्युगिनीले युएईलाई दुवै खेलमा पराजित गरेकोले नेपाली खेलाडीको मनोबल उच्च रहेको छ ।
आईसीसी लिग २ को पुछारमा रहेको पपुवा न्युगिनीसँग मात्रै ९७ रनमा अल आउट भएर पराजित युएई पहिलो खेलमा पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको थियो ।
तर नेपालले भने लिगको पुछारमा रहेको पपुवा न्युगिनीलाई पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित गरेको थियो ।
आईसीसी लिग २ अन्तरगत स्कटल्याण्ड शीर्षमा रहेर आफ्नो स्थान सुरक्षित गरिसकेको छ । दोस्रोमा ओमान रहेको छ । तेस्रो स्थानमा ३९ अंककासाथ नामिबिया रहेको छ ।
युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ ।
खेल्न बाँकी पाँचै खेल जितेमा नेपालको अंक ४० पुग्छ र नेपाल तेस्रो स्थानमा रहदै सिधै विश्वकप छनोट खेल्न छनोट हुनेछ । यसैले आजसहित नेपालमा हुने प्रत्येक खेल नेपालका लागि महत्वपूर्ण छन् र सबैमा जित निकाल्नुपर्ने दबावमा नेपाली टिम रहेको छ ।
तालिकाको चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक मात्रै छ। उसको विश्वकप छनोट खेल्ने सम्भावना सकिएको छ। पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ। पपुवा न्युगिनी विश्वकप छनोट खेलमा चयन हुने संभावना समाप्त भएको छ ।
आईसीसीबाट एकदिवसीय मान्यता कायम राख्न शीर्ष ५ मा पर्नुपर्नेछ। त्यसका लागि पनि नेपालले बाँकी खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने अवस्था छ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी.
अंक तालिका


















