Prakash Adhikari March 11, 2023

काठमाडौं, २७ फागुन । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज (फागुन २७ गते) उम्मेदवारी दर्ता गरिँदै छ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ।

यस्तै दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ।

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले शुक्रबारै निर्देशन दिइसकेको छ।

तर सत्ता गठबन्धन र नेकपा एमालेले उम्मेदवार चयन गरिसकेका छैनन्। उनीहरूले आजै उम्मेदवार चयन गर्ने तयारी छ।

राष्ट्रपतिमा भने नौदलीय गठबन्धनबाट रामचन्द्र पौडेल निर्वाचित भइसक्नुभएको छ। उहाँले आगामी सोमबार शपथ लिएर पद सम्हाल्नुहुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि फागुन २८ गते सकिँदै छ।

 

Share Now

Leave a comment.