बुटबल(रुपन्देही), १५ वैशाख। लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथग्रहण गर्नुभएको छ ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराउनुभएको थियो ।
मुख्यमन्त्री चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम पदमा नियुक्त हुनुभएको थियो ।
शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी हुुनुहुन्थ्यो ।
सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले विना विभागीय मन्त्रीको शपथ लिनुहुनेछ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना सरकारको विपक्षमा छन् ।


















