काठमाडौं, २६ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारले नेपाल प्रहरीका महानीरिक्षक (आइजीपी)को अमेरिका भ्रमण रद्द गरेको छ।
अमेरिकामा हुने लिडरशिप एक्सचेन्ज कार्यक्रममा भाग लिन जान लाग्नुभएका आइजीपी वसन्त कुँवरको भ्रमण रोकेको रोकेर नेपाल प्रहरीका एआइजीको टोलीलाई पठाइएको छ।
भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणका प्रहरीले अनुसन्धान गरिरहेको र सो अनुसन्धान प्रभाबित हुनसक्ने भन्दै आइजीपीको भ्रमण अनुमति नदिएको हो।
आइतबार साँझ मात्रै आइजीपीको भ्रमणमा रोक लगाएर एआइजी किरण बज्रचार्यको नेतृत्वमा अर्को टोली पठाइएको बताइएको छ ।
आइजी कुँवरको भ्रमण रद्द भएपछि एआइजीको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गएको छ। एआइजी बज्राचार्यको नेतृत्वमा टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहनुभएको छ।
वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी र न्यूयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान जनाइएको छ।
‘आइजीपीको भ्रमण अचानक रद्ध भयो, प्रधानमन्त्रीले नै उहाँलाई मुलुकबाहिर नजान निर्देशन दिनु भएको हो’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।
नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिनुभएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार हुनुहुन्छ भने कतिपय राजनीतिक नेताहरुको संलग्नताको चर्चाले नेपालको राजनीति गर्माएको छ।


















