काठमाडौं, २६ वैशाख। नेपाली कांग्रेसकी सांसद आरजु राणाले एजेन्ट दर्ता गरेर कर तिर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ।
प्रतिनिधि सभामा प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकतामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विभिन्न मन्त्रालयमा हुने खरीदमा एजेन्ट भएपनि कानुनी मान्यता नपाउँदा कर गुमिरहेको बताउनुभयो।
‘मन्त्रालयमार्फत हुने विभिन्न खरीदमा भेन्डर खुला रुपमा देखिनुपर्छ। उनीहरुले ठुला डिल गरिरहेका छन्। उनीहरुले कतिमा सेटल गरिरहेका छन्,’ डा. राणाले भन्नुभयो, ‘के आपूर्ति गर्दा कति प्रतिशत पाएको छ। यो सबै खुला रुपमा थाहा पाउनुपर्छ।’
राणाले सुरक्षाका सामान खरीदबिक्री लगायतका क्षेत्रमा हुने एजेन्टलाई संकेत गर्दै सो कुरा भन्नुभएको हो ।
सेना र प्रहरीले गर्ने सैन्य सामाग्री खरीदबिक्री पारदर्शी छैन। सरकार(सरकारबीच सैन्य सामाग्री खरीदबिक्री हुँदा पनि एजेन्ट राखिएको हुन्छ। त्यसमा ठूलो कमिसन सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, कर्मचारी र व्यापारीबीच भागबण्डा हुने गर्छ।
सांसद डा.राणाले एजेन्ट दर्ताको विषय सुशासनसंग जोडिएको बताउदै भन्नुभयो, ‘एजेन्टको विषय भष्ट्राचारसँग पनि जोडिएको विषय हो। हामीले पारदर्शी हुने हो भने यो गर्नैपर्छ। यहाँ भष्ट्राचारको कुरा गरेर मोही माग्ने ढुङग्रो लुकाउने गरिन्छ।’
‘नो बडी डज बिजनेस टु मेक अ लस,’ डा.राणाले भन्नुभयो, ‘तर उनीहरुले के कति कमिसन पाएको छ। त्यो नेपालमै दर्ता गर्ने र त्यसमा कर लगाउने र तिर्ने व्यवस्था होस्।’
सांसद राणाले एजेन्ट दर्ताको व्यवस्थाले व्यापारीलाई चोर भन्ने प्रवृत्ति समेत हट्ने जिकिर गर्नुभयो।


















