जब्दिघाट भत्केकोपुल(बर्दिया), ६ जेठ । कांग्रेस सांसदका सांसद एवम् केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले आठ दिनपछि अनशन तोड्नुभएको छ ।
निर्माण सम्पन्न भएर उद्घाटन नै हुन नपाउदै पाँच बर्षपहिले भत्किएको जब्दिघाटको पुल निर्माण लगायत १५ सूत्रीय माग राख्दै उहाँले सोही भत्किएको पुलमुनि वैशाख ३० गतेबाट आमरण अनशन सुरु गर्नुभएको थियो ।
बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले आठौं दिनमा अनशन तोड्नुभएको हो।
शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति गरेपछि अनशन तोडेको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिनुभएको छ।
बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो। सो ठाउँमा नयाँ पुल निर्माणका लागि ५ वर्षभन्दा बढी प्रयास गरेको भए पनि सरकारले कुनै चासो नदेखाएको गौतमको गुनासो छ।
त्यसैगरी गुलरियामा तटबन्धको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग राख्दै उहाँ अनशनमा बस्नुभएको थियो।
उहाँको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबार उहाँको जीवन रक्षाको माग गर्दै उहाँका माग पूरा गरेर अनशन तोड्न सरकारको ध्यानाकर्षण गराएको थियो ।
यसपहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एक पत्रकार सम्मेलनको आयोजना गरेर जब्दिघाट पुल पुननिर्माण गर्ने विषय आगामी आर्थिक बर्षको बजेटमा मन्त्रालयले पारेको जानकारी दिंदै उहाँलाई अनशन तोड्न काठमाडौंबाट अनुरोध पनि गर्नुभएको थियो ।