कीर्तिपुर(काठमाडौं), ३ कार्तिक । नेपाल प्रिमियर लिगको आज सम्पन्न दोस्रो क्वालिफायर खेलमा चितवन रोयल्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
१ सय ३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १ सय ३६ रन जोडदै १ बल अघि विजय प्राप्त गरेको हो । एनपिएलको तीनै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम रोयल्स एक्लो टोली हो ।
सुदूरपश्चिमलाई फाइनलमा पुर्याउन आज थरिन्दु रत्नायकेले अविजित ५३, स्कट कुग्गेलेइजनले २५, विनोद भण्डारीले २३, दीपेन्द्रसिंह ऐरी १५, इशान पाण्डे १०, जर्ज मुन्सेले ८ र फेवियन एलेनले ५ रनको योगदान गरे । उसले एक वाई, ३ लेगवाई र नो बल र ५ वाइडबाट अतिरिक्त १० रन जोडेको थियो ।
सुदूरपश्चिमलाई रोक्ने क्रममा रन्जित कुमारले दुई तथा उसमा मीर,सालउद्धिन खान, कमल ऐरी र रिजन ढकालले एक एक विकेट लिएका थिए ।
यस अगाडि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रनको योगफल बनाएको थियो ।
चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए ।
उसका लागि सलाहुद्दिन खानले १६ बलमा १८ रन तथा कमल ऐरीले ८ बलमा १० रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन । त्यस्तै देव खनालले ६ रन बनाए भने क्यामिल मिश्राले ४ रन बनाए ।
चितवनलाई रोक्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलाइनले उत्कृष्ट ३ विकेट लिए भने थारिन्दु रत्नायकेले २ विकेट हात पारे ।त्यस्तै हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १(१ विकेट लिए ।
सुदूरपश्चिमले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ। गत वर्ष पनि लुम्बिनी र सुदूरपश्चिम फाइनल भएको थियो।






