Prakash Adhikari May 28, 2023

नयाँदिल्ली(भारत), १४ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच त्यहाँको नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ।

उद्घाटनसँगै उहाँले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको सुनको राजदण्ड पनि संसद् भवनमा स्थापना गर्नुभएको छ।

नयाँ भवन उद्घाटनका लागि राष्ट्रपतिलाई आग्रह नगरिएकोमा प्रतिपक्ष दलहरूले भने सरकारको आलोचना गरेका छन्।

उनीहरूले कट्टर हिन्दुत्ववादी विचारधाराका नेता विनायक दामोदर सावरकको जन्मजयन्तीमा कार्यक्रम आयोजना गर्ने निर्णयको पनि निन्दा गरेका छन्।

सत्तारुढ भारतीय जनता पार्टी भाजपाले चाहिँ विपक्षीहरूको बहिष्कारलाई ‘लोकतन्त्रप्रतिको अनादर’ भनेको छ।

नयाँ संसद् भवन राजधानी दिल्लीमा ‘सेन्ट्रल भिस्टा पावर करिडोर’को विकास गर्ने सरकारको महत्त्वाकाङ्क्षी परियोजनाको हिस्सा हो।

भारतको नयाँ संसद् भवन

भवन निर्माणको लागत

आइतवार नयाँ भवनको उद्घाटन गर्दै मोदीले यो दिन र भारतीय स्वतन्त्रताको ७५ वर्षको स्मरणलाई अङ्कित गर्ने ७५ रुपैयाँको नयाँ सिक्का पनि जारी गर्नुभएको छ।

औपनिवेशिक कालको संसद् अगाडि निर्माण गरिएको नयाँ चार तले भवनको अनुमानित लागत ९ अर्ब ७० करोड भारु रहेको छ भने हालको संसद्‌ भवनका तुलनामा यसको सिट क्षमता बढेको छ।

संसद्‌को तल्लो सदन लोकसभा कक्षलाई भारतको राष्ट्रिय चरा मयूर जस्तै डिजाइन गरिएको छ भने माथिल्लो सदन राज्यसभा कक्षलाई भारतको राष्ट्रिय फूल कमल जस्तै डिजाइन गरिएको छ।

गत बुधवार प्रमुख प्रतिपक्षी कङ्ग्रेससहित १९ दलले उद्घाटन समारोह बहिष्कार गर्ने ूसामूहिक निर्णयूको घोषणा गरेका थिए।

Image

विपक्षीले किन गरे बहिष्कार?

कङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र पार्टी नेता राहुल गान्धीले भवनको उद्घाटन संसद्को सर्वोच्च संवैधानिक व्यक्ति राष्ट्रपति द्रौपदी मुर्मुले गर्नुपर्ने बताउनुभयो।

कांग्रेस सांसद जयराम रमेशले पनि ूआफ्नो जीवनभरि महात्मा गान्धीको कडा विरोध गर्ने व्यक्ति ृसावरकरेको जन्मजयन्तीमाू कार्यक्रम आयोजना गर्ने सरकारी निर्णयको आलोचना गर्नुभयो।

टिप्पणीकारहरू यो अवस्थाले सत्तारुढ दल र प्रतिपक्षीहरू अधिकांश मुद्दाहरूमा सहमतिमा पुग्न असमर्थ रहेको वातावरणलाई प्रतिबिम्बित गरेको बताएका छन्।

“दुवै पक्षले आफूले समर्थन गरेका छुट्टाछुट्टै कुनाबाट बाहिर निस्कनु आवश्यक छ। उनीहरूले त्यसो गर्नुपर्छ किनभने यदि उनीहरूले त्यसो गरेनन् भने इतिहासले उनीहरूलाई माफ गर्ने छैन”, इन्डियन एक्सप्रेस अखबारले सम्पादकीयमा लेखेको छ, “उनीहरूले जनहित र जनताको संसद्का लागि त्यसो गर्नुपर्छ।”

प्रदर्शनको सामना

नयाँ संसद्को उद्घाटन हुने बित्तिकै उक्त भवनबाहिर भारतका शीर्ष पहलवानहरूको विरोध प्रदर्शन पनि हुनेछ।

ओलिम्पिक पदक विजेतालगायत कुस्ती खेलाडीहरूले कुस्ती महासङ्घका अध्यक्ष बृजभूषण सिंहको राजीनामा र गिरफ्तारीको माग गर्दै राजधानी दिल्लीस्थित जन्तर मन्तरमा एक महिनादेखि प्रदर्शन गरिरहेका छन्।

सिंह भाजपाका एकजना प्रभावशाली सांसद र नेता हुनुहुन्छ।

उहाँमाथि महिला कुस्ती खेलाडीलाई यौन दुर्व्यवहार र उत्पीडन गरेको गम्भीर आरोप लागेको छ तर त्यसलाई उहाँले अस्वीकार गर्दै आउनुभएको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.