काठमाडौं, १९ जेठ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीद्धारा भारतको सिलुगडीदेखि झापा चारआली र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म विस्तार गरिने पेट्रोलियम पाइप लाइनको भर्चुअल शिलान्यास सम्पन्न भएको छ।
प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीले बिहिबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा हरियो बटन थिचेर सिलिगुडीदेखि झापाको चारआलीसम्म र हाल बारको अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने परियोजनाको शिलान्यास गर्नुभएको हो।
यो परियोजनाले नेपालको पेट्रोलियम पदार्थको भन्डारण क्षमता बढाउने छ। यो झापाको चारआलीमा ४१ हजार किलोलिटरको भन्डारण क्षमताको हुने छ। यसमा दैनिक ४० ट्यांकर लोड गर्न सकिन्छ। यो परियोजना भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर गरी करिब ५० किलोमिटर लम्बाइको हुनेछ।
यो दोस्रो फेजको पाइपलाइन परियोजना हो। जसको लागत अनुमानित भारु १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। यो पूर्ण रुपमा अटोमेटेड स्मार्ट ट्रमिनिल हुनेछ।
यो सँगै भारतले १७ अर्बको लागतमा दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने नेपाल र भारतबीच सम्झौता भएको हो। जसमा समझदारी पत्रमा भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र टर्मिनल निर्माण गर्ने उल्लेख छ।
त्यस्तै, मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने कार्यक्रम पनि हालको संझौतामा रहेको छ ।
समझदारीपत्र अनुसार अबको ६ महिनाभित्र सबै गृहकार्य गर्नुपर्छ। निर्माणको काम थालेको ५४ महिनामा तीनवटै परियोजना सम्पन्न गर्ने उल्लेख छ। निर्माणको काम थालेको ५४ महिनामा तीनवटै परियोजना सम्पन्न गर्ने उल्लेख भएको नेपाल आयल निगमले जनाएको छ।


















