सिन्धुली, १९ जेठ । भक्तपुरबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खसेको छ ।
बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न दुर्घटना भएको हो ।
जिपका ड्राइभर कृष्ण चौधरी झ्यालबाट हाम फालेर बाचेका छन् ।
उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको गाडीमा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी‚ पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक अधिकृत भानु पौडेल सवार थिए ।
नदीमा बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ । घाइते चौधरीको खुर्कोट शुभजीवन अस्पतालमा उपचार भइरहेको छ ।








