ओडिसा(भारत), २० जेठ(बीबीसी) । भारतको पूर्वी राज्य ओडिशामा रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २ सय ३८ जनाको मृत्यु भएको र ९ सय जना भन्दाबढी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्।
उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २ सय वटा भन्दाबढी एम्बुलेन्स पठाइएको जनाएका छन्।
एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ।
यो भारतमा भएको यस शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो।

मृतकको सङ्ख्या बढ्न सक्ने
मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए।
जेनाका अनुसार हालसम्म २ सय ३३ जनाको शव फेला परेको छ। उहाँले १ सय भन्दाबढी चिकित्सकहरू घटनास्थलमा परिचालन गरिएको बताउनुभयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू अत्यन्त दुःखी भएको बताउनुभएको छ।
उहाँले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।
मोदीले ट्विटरमा लेख्नुभएको छ, “दुर्घटना स्थलमा उद्धारकार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदै छ।”
गृहमन्त्री अमित शाहले घटना “अत्यन्त पीडादायी” भनेका छन्।

दुर्घटनाका बेलाको अवस्था
उक्त घटनामा बाँचेका एक पुरुष यात्रुले भने, “दुर्घटना हुँदा १०-१५ जना ममाथि खसेका थिए। कोलाहल मच्चियो। म मानिसहरूको थुप्रोमा सबैभन्दा तल थिएँ।”
“मेरो हात र घाँटीको पछाडिपट्टि चोट लागेको छ। रेलको डिब्बाबाट बाहिर निस्किँदा मैले कसैले हात अनि कसैको खुट्टा गुमाएका र कसैको अनुहार विकृत भएको देखेँ “, उनले भारतको एएनआई समाचार संस्थालाई भने।
दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ।
घटनापछि केही जीवित यात्रुहरू दुर्घटनास्थलमा फसेका मानिसलाई उद्धार गर्न दौडिएको देखिएको थियो।
स्थानीय बस कम्पनीहरूले पनि यात्रुलाई ओसारपसार गर्न मद्दत गरिरहेका छन्।
कसरी भयो दुर्घटना ?

शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू भारतीय समयानुसार शुक्रवार साँझ ७ बजे पटरीबाट बाहिर खसेका थिए। तीमध्ये केही विपरीत ट्र्याकमा पुगेका थिए भन्ने अनुमान गरिएको छ।
अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएका डिब्बामा ठोक्किन पुग्यो भनिएको छ।
भारतीय अधिकारीहरूका अनुसार घटनास्थलमा रोकिएको अवस्थामा भएको अर्को सामानवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोकिन पुगेको बताएका छन्।
भारत दक्षिण एशियामा सूचना प्रविधिमा सबैभन्दा अगाडि रहेको छ । सवारी साधनहरुमा जीपीएस लगायतका सञ्चार उपकरणहरु थप गर्न सकिन्छ । रेल्वे स्टेशन र प्रशासन केन्द्रबाट स्कडा(सुपरभाइजरी कन्ट्रोल एण्ड डाटा एक्वीजिसन) पद्धतिका मार्फत चलिरहेका सवारी साधन रेल्वे ट्रयाकको समेत जानकारी लिन सकिने सुविधा छ । तर विज्ञानप्रविधिमा अन्तरिक्षमा समेत प्रतिस्पर्धा गरिरहेको भारत जमिनमा उपलब्ध प्रविधि उपयोगमा किन पछि परिरहेको छ , त्यो रहस्यमय छ ।
बीबीसी दक्षिण एशियाका क्षेत्रीय सम्पादक अनबरसन इथिराजनका अनुसार भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ र क्रमशः सरकारले पूर्वाधार सुधार गर्न अर्बौँ लगानी गरिरहेको छ।
तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन्।
यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो।
त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्र्याकबाट नदीमा खसेको थियो। त्यस बेला कम्तीमा ८ सय जनाको ज्यान गएको थियो।
साङ्केतिक तस्बिर
पछिल्ला वर्षमा भारतमा भएका केही ठूला रेल दुर्घटना
१९ अगस्त २०१७: उत्तर प्रदेशको मुजफ्फरनगरको खतौली नजिक कलिंगा-उत्कल एक्सप्रेसको १४ डिब्बा लिकबाट बाहिर खसेका थिए। पुरीबाट हरिद्वार जाँदै गरेको त्यो रेल दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो।
२२ जनवरी २०१७: आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा हिराखण्ड एक्सप्रेसका आठवटा डिब्बा लिकबाट बाहिर खस्दा करिब ३९ जनाको मृत्यु भएको थियो।
२० नोभेम्बर २०१६: कानपुर नजिकै पुख्रायनमा एउटा ठूलो रेल दुर्घटना भयो त्यसमा कम्तीमा १५० जना मानिसको मृत्यु भयो। पटना–इन्दौर एक्सप्रेसका १४ डिब्बा लिकबाट बाहिर खसेका थिए।
२० मार्च २०१५: देहरादूनबाट वाराणसी जाँदै गरेको जनता एक्सप्रेस दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो।
४ मे २०१४: नागोठाने र रोहा स्टेशनहरू बीच दिवा सावन्तवाडी यात्रुवाहक रेल दुर्घटनामा २० जनाको ज्यान गएको थियो भने एक सय जना घाइते भएका थिए
२८ डिसेम्बर २०१३: बैङ्गलोर-नान्देड एक्सप्रेस ट्रेनमा आगलागी हुँदा २६ जनाको मृत्यु भयो। सोही वर्ष अगस्ट १९ मा बिहारको खगरिया जिल्लामा राज्यरानी एक्सप्रेसको ठक्करबाट २८ जनाको ज्यान गएको थियो।
३० जुलाई २०१२: भारतीय रेलवेको इतिहासमा सन् २०१२ दुर्घटनाको हिसाबले सबैभन्दा खराब वर्षहरूमध्ये एक थियो। त्यो वर्ष करिब १४ वटा रेल दुर्घटना भएका थिए। यसमा लिकबाट बाहिर जाने र रेलले ठक्कर दिएका घटनाहरू छन्। ३० जुलाई २०१२ मा नेल्लोर नजिकै दिल्ली-चेन्नई तमिलनाडु एक्सप्रेसको एउटा कोचमा आगलागी हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।
७ जुलाई २०११: उत्तर प्रदेशमा रेल र बस ठोक्किँदा ३८ जनाको मृत्यु भएको थियो।
२० सेप्टेम्बर २०१०: ग्वालियर इन्टरसिटी एक्सप्रेस मध्य प्रदेशको शिवपुरीमा सामान बोकेको रेलसँग ठोक्कियो। उक्त दुर्घटनामा ३३ जनाको ज्यान गएको थियो भने १६० जनाभन्दा बढी घाइते भएका थिए।

१९ जुलाई २०१०: उत्तर बङ्ग एक्सप्रेस र वनञ्चल एक्सप्रेस पश्चिम बङ्गालमा ठोक्कियो। ६२ जनाको मृत्यु भयो भने १५० भन्दा बढी घाइते भए।
२८ मे २०१०: पश्चिम बङ्गालमा संदिग्ध माओवादी हमलामा ज्ञानेश्वरी एक्सप्रेस लिकबाट बाहिर खस्दा १७० जनाको मृत्यु भएको थियो।
२१ अक्टोबर २००९: गोवा एक्सप्रेसको इन्जिन उत्तर प्रदेशको मथुरा नजिकै मेवाड एक्सप्रेसको अन्तिम डिब्बासँग ठोक्कियो। उक्त घटनामा २२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए।
१४ फेब्रुअरी २००९: हावडाबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसका १४ डिब्बा ओडिशाको जाजपुर रेलवे स्टेशन नजिकै लिकबाट खसेका थिए। दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका थिए।
अगस्ट २००८: सिकन्दराबादबाट काकीनाडा जाँदै गरेको गौतमी एक्सप्रेसमा राति अबेर आगलागी भयो। जसका कारण ३२ जनाको ज्यान गयो भने धेरै घाइते भए।
२१ अप्रिल २००५: गुजरातको वडोदरा नजिक साबरमती एक्सप्रेस र सामान बोकेको रेलसँगको ठक्करमा कम्तीमा १७ जनाको मृत्यु भयो र ७८ अन्य घाइते भए।
फेब्रुअरी २००५: महाराष्ट्रमा रेल र ट्रयाक्टरको ठक्करबाट कम्तीमा ५० जना मारिए र धेरै घाइते भए।
जुन, २००३: महाराष्ट्रमा रेल दुर्घटनामा ५१ जनाको मृत्यु भयो र धेरै घाइते भए।
२ जुलाई २००३: आन्ध्र प्रदेशको हैदरावादबाट १२० किलोमिटर टाढा वारङ्गलको ओभरब्रिज मुनि गोलकोन्डा एक्सप्रेसको दुईवटा डिब्बा र इन्जिन सडकमा खसे। दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।
१५ मे २००३: पञ्जाबको लुधियाना नजिकै फ्रन्टियर मेलमा आगलागी भयो। कम्तीमा ३८ व्यक्ति मारिए।
९ सेप्टेम्बर २००२: हावडाबाट नयाँ दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेस दुर्घटना भयो। जसमा १२० जनाको मृत्यु भएको थियो ।
२२ जुन, २००१: मंगलोर-चेन्नई मेल केरलाको कादलुन्डी नदीमा खस्दा ५९ जनाको मृत्यु भएको थियो।
३१ मे २००१: उत्तर प्रदेशको रेलवे क्रसिङमा रोकिएको बससँग रेल ठोक्किएपछि ३१ जनाको मृत्यु भएको थियो।

२ डिसेम्बर २०००: कोलकाताबाट अमृतसर जाँदै गरेको हावडा मेल दिल्ली जाँदै गरेको सामान बोकेको रेलसँग ठोक्कियो। ४४ जनाको मृत्यु भयो भने १४० जना घाइते भए।
३ अगस्ट १९९९: दिल्ली जाँदै गरेको ब्रह्मपुत्र मेल पश्चिम बङ्गालको गासलमा अवध-असम एक्सप्रेससँग ठोक्कियो। त्यसमा २८५ जना मारिए र ३१२ जना घाइते भए।
२६ नोभेम्बर १९९८: पञ्जाबको खन्नामा फ्रन्टियर मेल सियालदह एक्सप्रेससँग ठोक्कियो। त्यसमा १०८ जनाको ज्यान गयो भने १२० घाइते भए।
१४ सेप्टेम्बर १९९७: अहमदाबाद-हावडा एक्सप्रेस छत्तीसगढको बिलासपुरमा नदीमा खस्यो। दुर्घटनामा ८१ जना मारिए भने १०० जना घाइते भए।
१८अप्रिल, १९९६: दक्षिण केरलामा एर्नाकुलम एक्सप्रेस बससँग ठोक्कियो। त्यसमा ३५ जनाको ज्यान गयो भने ५० जना घाइते भए।
२० अगस्त १९९५: नयाँ दिल्ली जाँदै गरेको पुरुषोत्तम एक्सप्रेस उत्तर प्रदेशको फिरोजाबादमा कालिन्दी एक्सप्रेससँग ठोक्कियो र २५० जनाको ज्यान गयो भने २५० जना घाइते भए।
२१ डिसेम्बर १९९३: कोटा-बिना एक्सप्रेस राजस्थानमा सामान बोकेको रेलसँग ठोक्कियो। ७१ जनाको मृत्यु भयो भने धेरै घाइते भए।
१६ अप्रिल १९९०: पटना नजिकै रेलमा आगलागी हुँदा ७० जनाको ज्यान गयो।
२३ फेब्रुअरी १९८५: राजनन्दगाउँमा यात्रुवाहक रेलका दुईवटा डिब्बामा आगलागी हुँदा ५० जनाको मृत्यु र धेरै घाइते भए।
६ जुन १९८१: बिहारमा आँधीका कारण रेल नदीमा खस्यो र त्यो दुर्घटनामा ८०० जनाको ज्यान गयो। १,००० भन्दा बढी घाइते भएका थिए।


















