Prakash Adhikari June 9, 2023

काठमाडौं, २६ जेठ । सत्तारुढ नेपाली कांग्रेस नै अर्थमन्त्री डा. प्रकाशशरण महतको बजेटको प्रतिबद्धताविरुद्ध उभिएको छ । कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेजीको विरुद्धमा आफूलाई उभ्याएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जिल्ला निर्वाचन कार्यालय खारेजीको पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पारेका छन्। निर्वाचन आयोगमा आज भएको सर्वदलीय भेलामा सहमहामन्त्री परियारले जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयमा उक्त मत राखेको बताउनुभएको छ।

‘जिल्ला निर्वाचन कार्यालयले तटस्थ भएर गरेको छ’, छलफलपछि परियारले भन्नुभयो, ‘मैले पार्टीको तर्फबाट यो निर्णय ठीक नभएको धारणा राखेको छु।’

नयाँ बजेटमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेको थियो। आयोगले राजनीतिक दलहरुसँग खारेजी विषय, विदेशमा भएका नेपालीहरुलाई मतदान अधिकार र निर्वाचन कानुनबारे छलफलका शुक्रवार बैठक डाकेको थियो।

सहमहामन्त्री परियारले निर्वाचन कानुन संशोधनका लागि पार्टी तयार रहेको र विदेशमा रहेको नेपालीले भोट हाल्न पाउनुपर्ने मागसमेत आफूले राखेको बताउनुभयो।

‘मतदाता नामावली संकलनका लागि पार्टी सघाउन तयार छ। कार्यालय मर्ज गर्ने कुरा हुँदैन भनेर पार्टीको धारणा राखें’, परियारले भन्नुभयो, ‘निर्वाचन कानुनका लागि कांग्रेस तयार छ। विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था गर्नुपर्छ।

Share Now

Leave a comment.