Prakash Adhikari June 13, 2023

भैरहवा (रुपन्देही), ३० जेठ । नेपाल वायुसेवा निगमले क्वाललम्पर,भैरहवा काठमाडौं उडान सुरु गरेको छ । निगमको आज बिहान मलेशियाबाट उडेको विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी काठमाडौं आएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी अवतरण भएको छ ।

साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो । विमानबाट ३१ जना यात्रु भैरहवामा अवतरण भएका छन् ।

नेपाली वायुसेवा निगमले भैरहवा विमानस्थलमा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेकोले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गर्नुभएको थियो।

विमानमा मलेशियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौं प्रस्थान गरेका छन् ।

नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेश घिमिरेका अनुसार, निगमले जेठ पहिलो साता मलेसिया भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो । तर अहिले मलेसिया भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको छ ।

मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट रहेको छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट जति लाग्छ।

निगमका उपनिर्देशक रमेश पौडेलले पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा क्वाललम्पुर भैरहवा काठमाडौ उडान गर्ने बताउनुभयो । भारतले एअररुट अनुमति दिईहाले चाँडै भैरहवाबाट दिल्ली–काठमाडौं उडान गर्ने योजनामा निगम रहेको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो ।

जजिरापछि हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।

भैरहवा विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेका अनुसार, निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने टर्न(अराउण्ड उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ । त्यहाँबाट थप यात्रु राख्न पनि पाइँदैन । साथै चालक दलका सदस्यहरु पनि हेरफेर हुँदैनन् ।

Share Now

Leave a comment.