Prakash Adhikari June 21, 2023

बंगलोर(भारत), ६ आषाढ । भारतमा बुधबारदेखि सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलामा नेपालले कुवेतसँग हार व्यहोरेको छ।

बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल खादा एक गोल फर्कायो।

खेलको २३ औँ मिनेटमा कप्तान खालिद हाजियाको गोलमा कुवेतले सुरुवाती अग्रता बनाएको थियो।

कर्नर प्रहारमा नेपालका डिफेन्डरबीच तालमेल नमिल्दा गोलरक्षक अघि बढेको अवस्थामा खालिदले बललाई पोष्टको गति दिए।

खेलको ४१ औँ मिनेटमा शबैब अलखाल्दीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए।

खेलको ४५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए।

पेनाल्टी एरियामा नेपालका डिफेन्डर अनन्त तामाङले ह्याण्ड गरेपछि रेफ्रिले कुवेतलाई पेनाल्टी अवसर दिएको थियो। जुन मौकालाई मोहम्मद अब्दुल्लाहले खेर जान दिएनन्।

खेलको ६८ औं मिनेटमा अञ्जन विष्टले गरेको गोल नेपालका लागि शान्त्वना बन्यो। राष्ट्रिय टोलीबाट अञ्जनको यो १२ औं गोल हो।

दोस्रो हाफमा नेपालले गोल गर्ने केही सुन्दर मौका बनाए पनि सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो।

समुह चरणको दोस्रो खेलमा नेपालले शनिबार घरेलु टोली भारतको सामना गर्नेछ। आगामी मंगलबार पाकिस्तानसँग खेल्नेछ।

Share Now

Leave a comment.