काठमाडौ, ८ आषाढ । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प्रसाद पाण्डले बताउनुभएको छ ।
बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसंग छलफल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
उपनेता पाण्डेले असन्तुलित विषयलाइ सन्तुलित बनाएर मात्रै बजेट पारित गर्न सकिने धारणा राख्नुभयो । बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाएकाले आफुहरु संशोधन हुनेमा सकारात्मक रहेको उहाँको भनाइ छ ।
सांसद पाण्डेले १ सय ६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटिबढी नहुने भन्दै बजेट पनि सामान रुपमा वितरण हुनुपर्ने उल्लेख गर्नुभयो ।
बैठकमा बजेटमा भएको असन्तुलनका बारेमा सबै सदस्यहरुले कडा रुपमा धारणा राखेको पाण्डेले बताउनुभयो ।


















