काठमाडौं, ४ श्रावण । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।
आज आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिनुभयो ।
अहिलेसम्म विभागले एक चिनियाँसहित सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये आज सात जनाको म्याद थप भएको हो । आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।
भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।
चिनियाँ नागरिक पक्राउ
झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार तिब्बतीयन एयरलाइन्सबाट चीन जान लागेका बेला उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाइएको छ । विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट झन्डै एक क्विन्टल सुन बरामद गरेको थियो ।
भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो ।
स्कुटरको ‘ब्रेक शु’को नाममा लुकाएर यसरी सुन बरामद भएको हो ।
बरामद गरिएको सुन राष्ट्र बैंकको टक्सार विभागमा तौलदा कभरसहित १ सय ५५ किलो पुगेको थियो ।


















