काठमाडौँ, २१ साउनः कम्पनीहरुको अघिल्लो आर्थिक बर्षको अपरिष्कृत वित्तीय विवरण विगतको भन्दा सुधारिएर आउदा पनि नेपालको शेयर बजारले भने ओरालो गति छोड्न सकेन ।
शेयर बजारलाई स्थायित्व दिने तालुकदार मन्त्रालय अर्थ मन्त्रालयमाथि प्रधानमन्त्री हावी भएर एकापसमा अविश्वास बढ्दै गएपछि यसको प्रत्यक्ष असार पूँजी बजारमा परेको छ । अर्थमन्त्रीमाथि प्रधानमन्त्रीको अविश्वास । गभर्नरमाथि अर्थमन्त्रीको अविश्वास । उद्योगी र व्यापारीहरु दुवैको दैलो चहार्दा पनि कति पनि आश्वस्त र विश्वस्त हुन नसकेको अवस्थाले शेयर बजारलाई अस्थिर बनाएको बताइएको छ ।
आज पनि नेपालको शेयर बजार ओरालो लाग्यो । आज धितोपत्र बाजर परिसूचक १३.८२ अङ्कले घटेर २६५४.१५ मा पुग्यो।
बिहिवार विभिन्न कम्पनीका १ करोड ८ लाख ४ हजार ४ सय २६ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४ सय ४२ रुपैयाको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घट्यो । आज ६४ कम्पनीको सेयर बढ्यो भने २०२ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रोपावर, एनआइबिएल समृद्धि फण्ड २, एनआइबीएल स्टेबल फण्ड, सानीगाड हाइड्रो, एभरेष्ट कलर ल्याब,ग्लोबल आईएमबी ब्यालेन्स फण्ड, गोर्खा फाइनान्स, आरबीबी म्युचुअल फण्ड र सगरमाथा जलविद्युत कम्पनी का लगानीकर्ताले कमाएका छन् ।
आज एलएस होरिजन, मेगा म्युचुअल फण्ड, लक्ष्मी भ्यालु फण्ड, स्नोरिभर्स, सानिमा इक्विटी फण्ड, जोशी हाइड्रो, कुमारी बैंक डिबेञ्चर ८६, कृषि विकास बैंक, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले अधिक गुमाएका छन् ।
यस दिन रिडी हाइड्रो, आँखुखोला जलविद्युत,सोलु हाइड्रो, नेशनल हाइड्रो, खानीखोला हाइड्रो, रिलायन्स स्पिनिड. मिल, सेन्ट्रल फाइनान्स, एभरेष्ट कलर ल्याब, मञ्जुश्री फाइनान्स र कर्पोरेट विकास बैकको शेयरको अधिक मूल्यको कारोबार भएको छ ।