Prakash Adhikari July 22, 2023

काठमाडौं, ५ श्रावण ।नेपाली कांग्रेसका सांसद सुनिल शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन अवैध रुपमा भित्रदा पनि थाहापत्तो नपाउने गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्नुभएको हो।

सांसद शर्माले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताउनुभयो।

‘नेशनल स्क्याण्डलको रुपमा अहिले जुन हिजो सुन काण्ड आयो, कस्तो बेलामा आयो भने प्रधानमन्त्रीको धर्मपत्नीको काजकृया गरेर बसिरहेको बेलामा आयो। अर्थ मन्त्रालय मातहतको भन्सार विभाग त्यहाँ हुँदो रहेछ, गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा पुलिसहरु बस्नुहुँदो रहेछ,’ सांसद शर्माले भन्नुभयो।

अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको उहाँले बताउनुभयो।

‘अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल क्विन्टल सुन थाहा नपाइकन उहाँहरुको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुपर्‍यो। उहाँ धन्यवादको पात्र हुनुहुन्छ, यो देशमा। तर नैतिकताका हिसावले देशमा यत्रो सुन क्वीन्टल क्वीन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरुले राजीनामा दिनुपर्छ की पर्दैन?’, सांसद शर्माले भन्नुभयो।

अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा नेपाल प्रहरीहरु विमानस्थलमा ड्युटीमा खटिरहदा प्रधानमन्त्री मातहतको निकायले सुन तस्कर समात्नु पर्ने स्थिति आउनुले विभागीय मन्त्रीहरुको संलग्नता रहेको देखिने उल्लेख गर्दै उहाँले नैतिकताका हिसावले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो।

‘यसमा पक्ष र विपक्षको कुरा रहँदैन । नागरिक देश र जनताको कुरा हुन्छ। यहाँ पार्टीको पनि कुरा हुँदैन। गठबन्धनको भित्रको मान्छे भन्ने हुँदैन, यहाँ देश लुट्न कुनैपनि पार्टीको कुनै नेतालाई छुट छैन, त्यसैले दुई जना मन्त्रीले बाटो खुला गरेर तत्काल अनुसन्धानको विषयलाई सहज बनाइदिनुपर्छ र प्रधानमन्त्रीले चालेको कदममा सहज हुनुपर्छ,’ उहाँले भन्नुभयो।

 

Share Now

Leave a comment.