Prakash Adhikari July 22, 2023

काठमाडौं, ६ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) इटाली प्रस्थान गर्दै हुनुहुन्छ।

इटालीको राजधानी रोममा यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज त्यसतर्फ जान लाग्नुभएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार ‘युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित आदानप्रदानका लागि आवश्यक सम्झौता र समझदारीका खाका तयार भएका छन्।

लामो समयको अन्तरालमा दुई देशबिच उच्चस्तरोय भ्रमण हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्डसँग उहाँकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी इटाली जाँदै हुनुहुन्छ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्नु हुनेछ। यस क्रममा उहाँले खाद्य प्रणालीसहितका एजेन्डामा छलफल गर्नुहुने छ।

साथै सोही दिन आयोजना हुने विद्यालय भोजनको एजेन्डा बोकेको छुट्टै सत्रमा र मंगलबार खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्षको हैसियतमा प्रधानमन्त्री सहभागी हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ। जसका लागि नेपालले निर्वाह गर्नुपर्ने भूमिकासहितको अवधारणापत्र पनि तयार पारिएको जनाइएको छ।

कार्यक्रमका क्रममा प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष लगायत संयुक्त राष्ट्रसंघीय कार्यालयका उच्च व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ।

त्यस्तै प्रचण्डले गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर सम्बोधन गर कुराकानी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रचण्ड यही जुलाई २८ मा स्वदेश फर्किनु हुनेछ।

सन् २०१४ पछि दुई देशबीच हुन लागेको यो पहिलो भ्रमण हो। सन् २०१४ मा इटालीका तत्कालीन विदेशमन्त्रो बेनेडेटो डेल्ला भेडोभा नेपाल भ्रमणमा आउनुभएको थियो।

त्यसयता इटाली र नेपालबीच कुनै पनि उच्चस्तरीय भ्रमण नभएको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। सन् १९५२ मा इटालोसँग नेपालले औपचारिक कूटनीतिक सम्बन्ध गाँसेको हो।

नेपालमा प्रजातन्त्रको उदयभएपछि इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष विकास सहयोग गरिरहेको छ।

Share Now

Leave a comment.