Prakash Adhikari July 30, 2023

पोखरा(कास्की), १४ श्रावण । नेपालमा पनि सफा पानीको मोती (फ्रेस वाटर पर्ल) उत्पादन संभव दखिएको छ । पोखराको बेगनास तालमा गरिएको अनुसन्धानमूलक सीपी पालनबाट मोती उत्पादन संभव भएको पुष्टि भएको छ ।

सफा पानीको मोती उत्पादनमा छिमेकी देश चीन अगाडि छ। चीनले विश्व बजारमा मोती निर्यात गर्दछ । नेपालमा पनि चीनबाट मोती आयात हुन्छ।

मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराले मोती दिने सीपी खेतीमा प्राविधिक सफलता हासिल गरेको छ।

केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत बेचनप्रसाद यादवका अनुसार ५ वर्षको अनुसन्धान र प्रयासपछि बेगनास तालमा सफलता हासिल भएको हो। ‘मैले नै राखेको हो। रिजल्ट राम्रै छ। यसमा १०० प्रतिशत लेपन आएको छ। लेपन आएपछि बजारमा जान सक्छ,’ उहाँले भन्नुभयो।

अनुसन्धानका लागि केन्द्रले ताल अगाडि पोखरीमा प्रयास गरेको थियो। तर, त्यहाँबाट राम्रो उत्पादन निस्किएन। पोखरीमा गरेको अनुसन्धानको प्रतिफल राम्रो नआएपछि केन्द्रले बेगनास, फेवा र रुपातालमा खेतीका लागि प्रयास गर्‍यो। ‘अहिले राम्रो प्रतिफल निस्किएको बेगनास तालबाट हो। फेवातालको प्रतिफल हेर्न बाँकी छ’, यादवले भन्नुभयो।

मोती खेतीका लागि नेपालमा यसअघि पनि अनुसन्धान हुँदै आएको थियो । विशेषगरी तराई र चुरे क्षेत्रमा पाइने सीपीमा मोती खेतीको अनुसन्धान गरिएको थियो। निजी क्षेत्रको श्री महाकाली पर्ल फार्मिङ एण्ड ट्रेनिङ सेन्टर मोरङमा ७ वर्ष अनुसन्धान गरेर अहिले व्यावसायिकरुपमा अगाडि बढेको छ।

केन्द्रको ५ वर्षको अनुसन्धानले पोखरा आसपासमा पाइने सीपीबाट मोती उत्पादन हुने सक्ने देखाएको अधिकृत यादव बताउनुहुन्छ। तर केन्द्रको काम व्यावसायिक खेती गर्ने होइन।

त्यो काम निजी क्षेत्रको हो। अनुसन्धानले सम्भावना देखाए पनि व्यावसायिक खेतीका लागि प्राविधिक ज्ञान चाहिन्छ। उद्योगी आनन्दराज मुल्मी बेगनास तालको पानीमा मात्र सम्भव हो कि अन्त पनि भन्नेबारे स्पष्ट हुनुपर्ने बताउनुहुन्छ। ‘व्यावसायिकरुपमा अगाडि बढ्न सक्ने सम्भावना हो भने प्रविधि हस्तान्तरणदेखि अन्य कुरा चाहिन्छ। निजी क्षेत्रले त्यतिकै लगानी गर्न चाहँदैन।’मुल्मीले भन्नुभयो ।

मोती उत्पादनबाहेक सीपीको मासुको माग पनि धेरै हुन्छ। मासुका लागि मात्र पाल्न प्राविधिक पक्षमा धेरै ध्यान दिनुपर्दैन। तर मोती खेती गर्नका लागि प्राविधिक पक्ष नजानी हुँदैन। मुल्मी भन्छन्, ‘प्राविधिक सफलता पाएको केन्द्रले मोती खेतीका लागि के कस्तो सीप, ज्ञान र पूर्वाधार चाहिन्छ भन्ने कुरा निजी क्षेत्रलाई भन्नुपर्‍यो। प्रविधि सिकाउनु पर्‍यो। त्यसो भए व्यावसायिक खेती गर्न सकिन्छ।’

Share Now

Leave a comment.