मलंगवा(सर्लाही), १४ श्रावण । सर्लाहीको गोडैतामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा प्रहरी र स्थानीय गरी १० जना घाइते भएका छन्।
घटनामा ६ प्रहरी र ४ स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिनुभयो।
गोडैता बजारमा स्थानीय मुस्लिम समुदायले ताजिया मोहरम पर्व मनाउने क्रममा दुई समूहबीच उत्पन्न विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ।
डीएसपी पञ्जियारका अनुसार मुस्लिम समुदायले दाहा घुमाउन लैजाने क्रममा हिन्दु समुदायका केही स्थानीयले आफ्नो गाउँको बाटोबाट लैजान अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो।
दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले २६ सेल अश्रु ग्यास प्रहार र १६ राउन्ड हवाइ फायर गरेको छ।
ढुंगा प्रहारबाट ६ प्रहरी र चार स्थानीय घाइते भएका छन् ।
ढुंगा लागेर गम्भीर घाइते भएका स्थानीय राजेश पटेलको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
झपडमा घाइते भएका ६ प्रहरी र तीन स्थानीय उपचारपछि डिस्चार्ज भइसकेका छन्। झडपका क्रममा दुवै पक्षले इँटा, ढुंगा र सिसाका बोतल प्रहार गरेका थिए।
झडप नियन्त्रणमा लिन शनिबार साँझ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
थप झडप हुन नदिन गोडैता बजारमा अहिले पनि प्रहरी परिचालन गरिएको छ। अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन।
दुई समुदायबीच थप मनमुटाव र झडप हुन नदिन दुवै पक्षलाई राखेर छलफल गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


















