काठमाण्डौ, १४ श्रावण । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडबीच शेयर धनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद शेयर निष्काशनका लागि संझौता भएको छ
कम्पनीले संचालक समितिको निर्णयानुसार हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको थियो ।
सम्झौता पत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको हो ।
तेह्रथुमपावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत बि.सं. २०६६ स्थापना भई बि.सं २०७५ असारमा प्राईभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो । ७.५ मेगावाट जडित क्षमताको माथिल्लो कोरड.गा खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ ।
कम्पनीले हकप्रद शेयरबाट उठेको रकम २ मेगावाट क्षमताको कोरड.गा तड.माया जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।
तेह्रथुम पावर लिमिटेडको हालको चुक्ता पूँजी ४० करोड रुपैया रहेको जनाइएको छ । हकप्रद शेयर जारी गरेपछि यसको चुक्तापूँजी ८० करोड पुग्ने छ ।
नबिल इन्भेष्टमेन्टले तेह्रथुम पावर कम्पनी लिमिटेड सर्वसाधारणमा हकप्रथ शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने कम्पनीले जानकारी दिएको छ ।


















