Prakash Adhikari April 19, 2018

पार्टी एकताबारे दुबै दलका अध्यक्षबीच भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन
काठमाडौं, ६ बैशाख । नेकपा माओवादी केन्द्रका एकजना नेताले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि एकताविरोधी दबाब आइरहेको बताउँदै त्यो विफल पार्न नसके पार्टी एकता प्रक्रिया संकटमा पर्ने चेतावनी दिएका छन्।

दुबै दलका अध्यक्षबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि बीबीसीसँग कुरा गर्दै प्रचण्ड निकट एक नेताले त्यस्तो टिप्पणी गरेका हुन्।

एकता प्रक्रियामा देखिएको गाँठो फुकाउन भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीवार लामो छलफल भयो।

नत्र हुन्न
तर प्रचण्ड निकट नेता हरिबोल गजुरेलका अनुसार वार्ताले एकता प्रक्रियालाई कुनै सकारात्मक मोड दिन सकेन।

उनका भनाइमा चुनाव लगत्तै प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका शक्तिले ओलीमाथि दबाब बढाएका छन्।

ती शक्तिले प्रधानमन्त्री बनेपछि केपी ओलीमाथि दबाब दिएका छन्। त्यो दबाब उहाँले झेल्न सक्नु भयो भने एकता अघि बढ्छ, पछाडि हट्नु भयो भने एकता हुँदैन कुरा प्रष्ट छ
हरिबोल गजुरेल, माओवादी केन्द्रका नेता

प्रचण्डले त्यो प्रस्ताव अस्वीकार गरेर एकता जोगाएको बताउँदै गजुरेलले भने, ‘ती शक्तिले प्रधानमन्त्री बनेपछि केपी ओलीमाथि दबाब दिएका छन्। त्यो दबाब उहाँले झेल्न सक्नु भयो भने एकता अघि बढ्छ, पछाडि हट्नु भयो भने एकता हुँदैन, कुरा प्रष्ट छ।’

दुबै दलको समान हैसियतमा एकता हुने कुरा एमालेले स्वीकार गर्न नसक्दा एकता घोषणा पछि धकेलिएको माओवादी नेताको बुझाइ छ।

सुनिश्चितता

कतिपयको बुझाइमा भने एकता महाधिवेशनपछि पार्टी वा सरकारको नेतृत्वमध्ये एउटा आफूले पाउने सुनिश्चितता प्रचण्डले खोज्नाले ढिलाइ भएको हो।

तर सातबुँदे सहमतिले त्यो सुनिश्चित गरिसकेको बताउँदै नेता गजुरेलले भने, ‘केपी ओली एउटा भूमिकामा हुँदा प्रचण्ड अर्को भूमिकामा रहने त स्वतस् छ। पहिलो महाधिवेशनसम्म त्यही हुन्छ।’

उनका अनुसार सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्ताव एमाले अध्यक्ष ओलीकै हो।

तर अहिले एमालेभित्रैबाट ओलीमाथि पार्टीको भावी नेतृत्व सुम्पिने सुनिश्चिता अहिले नै गर्न नहुने दबाब आएपछि एकता प्रक्रिया अलमलमा परेको कतिपयको ठम्याइ पाइन्छ।

Share Now

Leave a comment.