काठमाडौं, १५ असोज । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।
रातभर मतदान गरी आज बिहान साढे ५ बजे सकिएको हो।
कोशीकाक ९ सय ९७ प्रतिनिधिमध्ये ९ सय ७७ ले मतदान गरेको एमाले प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणना आज दिउँसो सुरु गर्ने तयारी रहेको एमाले कोशी प्रदेश निर्वाचन कमिटीले जनाएको छ।
कर्णालीको मतगणना बिहान ८ बजेबाट
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना बिहान ८ बजेबाट हुने भएको छ । आइतबार सम्पन्न मतदानमा ६ सय ९ मत खसेको छ। वीरेन्द्रनगरको सिटी हलमा भएको मतदानमा जम्मा मतदाता ६ सय१६ मध्ये ६ सय ९ मत खसेको हो।
जम्मा १ सय ३० जना प्रदेश कमिटी मध्ये पाँच जना पदाधिकारी र ८१ जना सदस्यमा निर्वाचनका लागि मतदान भएको थियो।
यस्तै, अन्य ४४ जना प्रदेश कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन्।
पाँच जना पदाधिकारी मध्ये अध्यक्षमा तीन जनाको उम्मेदवारी रहेको छ। जसमा कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलावजंग शाह र कालीकोटका प्रकाश रोकाया छन्।
उपाध्यक्षमा लागि जाजरकोटका लालबहादुर महतारा, जुम्लाका टेकराज पछाई र मुगुका दानसिंह परियार छन्। सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाही मैदानमा उत्रिएका छन्।
यस्तै, दुई जना उप–सचिवका लागि ९ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। जसमा मुगुका उब्जन शाही, सुर्खेतका तेजकुमार वि.क., जुम्लाका धीरेन्द्रराज गिरी, रुकुमपश्चिमका नारायणकुमार शाह, सुर्खेतकी पद्मा खड्का, जुम्लाकी मेनका पछाई, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शर्मा र बखतबहादुर खत्री छन्।
यस्तै, सदस्य–६ जना (दलित महिला) युवा १ समेतका लागि १० जना, सदस्य–९ जना (दलित खुला) युवा ३ समेतका लागि ३१ जना, सदस्य–८ जना (जनजाति खुल्ला) युवा १ समेतका लागि नौ जना, सदस्य–१० जना (महिला) युवा २ सहितका लागि १५ जना, सदस्य–१९ जना (पुरुष) युवा ४ समेतका लागि ४९ जना उम्मेदवार मैदानमा उत्रिएका छन्।
यस्तै, प्रदेश लेखा समितको अध्यक्षमा मुगुका जितबहादुर मल्ल र सुर्खेतका सुरज थापा उम्मेदवार बनेका छन्। सचिव पदका लागि हुम्लाका कमल बोहोरा र सुर्खेतका कलाधर उपाध्यायबीच प्रतिस्पर्धा हुने भएको छ ।


















