Prakash Adhikari October 29, 2023

तेलअभिभ(इजरायल), १२ कार्तिक (बीबीसी) । इजरायल हमास युद्ध जारी रहँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लडाइँको अर्को चरण “लामो र कठिन” हुने चेतावनी दिनुभएको छ।

विश्वभरि विभिन्न स्थानमा गाजामा तत्काल युद्ध विराम गर्न माग गर्दै प्रदर्शनहरू भइरहेका बेला इजरायली प्रधानमन्त्रीले हमासविरुद्धको लडाइँ अर्को चरणमा प्रवेश गरेको बताउनुभएको हो।

अक्टोबर ७ मा हमासले इजरेलमाथि हमला गर्दा १ हजार ४ सय जति इजरायलीको ज्यान गएसँगै त्यसको जबाफी कारबाही भन्दै इजरायलले लगातार गाजामा हवाई तथा स्थल हमलाहरू गरिरहेको छ।

इजरायली बमबारीमा परेर गाजामा हालसम्म ८ हजार भन्दा बढीको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतकमध्ये आधा जति बालबालिका रहेका छन्।

यसैबीच शुक्रवारदेखि बन्द गरिएको गाजा स्ट्रीपको फोन तथा इन्टरनेट सेवा पुनर्स्थापित भएको खबर आएको छ।

शुक्रवार राति इजरायलले पछिल्लो तनाव सुरु भएयताकै सबैभन्दा व्यापक र घातक हवाई हमला गरेको थियो र त्यसबेला गाजा स्ट्रीपमा सञ्चार सेवा ठप्प पारिएकाले उक्त क्षेत्र बाँकी विश्वसँग सम्पर्कविहीन बनेको थियो।

विश्वका विभिन्न स्थानमा तत्काल युद्धविरामको माग गर्दै प्रदर्शनहरू भएका छन्, न्यूयोर्कमा भएको त्यस्तै प्रदर्शनमा सहभागी एक महिला तस्बिर

विश्वका विभिन्न स्थानमा तत्काल युद्धविरामको माग गर्दै प्रदर्शनहरू भएका छन्, न्यूयोर्कमा भएको त्यस्तै प्रदर्शनमा सहभागी एक महिला

 

नेतन्याहुको भनाई

नेतन्याहुले उहाँको देश हमाससँगको युद्धको दोस्रो चरणमा प्रवेश गरेको बताउनुभएको छ।

टेलिभिजनबाट प्रसारण गरिएको सम्बोधनमा उहाँले उक्त कुरा बताउनुभएको हो।

गत साता इजरायली रक्षामन्त्रीले त्यहाँको संसदीय समितिलाई तीन चरणमा युद्ध हुने बताउनुभएको थियो।

उहाँले भन्नुभएको थियो, ूअभियानको पहिलो चरण हमासलाई हराउनका लागि हमासका पूर्वाधार नष्ट गर्नु हुनेछ।

उहाँले दोस्रो चरणमा निरन्तर लडाइँ जारी रहने बताउनुभयो। त्यस क्रममा इजरायली सेनाले ूप्रतिरोधका केन्द्रहरूलाई नष्ट गर्नेू काम गर्ने बताउनुभयो।

अनि तेस्रो चरणमा ूगाजा स्ट्रीपमा मानिसहरूको जीवनयापनका लागि इजरेलको दायित्व अन्त्य गर्ने र इजरेली नागरिकका लागि नयाँ सुरक्षा दिनु आवश्यक भएकोू उहाँले बताउनुभयो।

नेतन्याहुले बन्धकहरूलाई फिर्ता ल्याउनु सेनाको मुख्य लक्ष्य रहेको तर हमासलाई समाप्त पार्नु पनि उसको उच्च प्राथमिकता रहेको बताउनुभएको छ।

अक्टोबर ७ मा गरेको हमलाका क्रममा हमासले २०० भन्दा बढी इजरायलीहरूलाई बन्धक बनाएको थियो।

इजरायल टर्की तनाव

टर्कीका राष्ट्रपतिले आफ्नै देशमा शनिवार प्यालेस्टाइन पक्षधर र्‍याली तथा सभालाई सम्बोधन गरेका थिए

टर्कीका राष्ट्रपतिले आफ्नै देशमा शनिवार प्यालेस्टाइन पक्षधर र्‍याली तथा सभालाई सम्बोधन गर्नुभएको थियो ।

इजरायली रक्षा बल आईडीएफले इजिप्ट र संयुक्त राज्य अमेरिकाले आइतवार गाजामा सहायता विस्तार गर्ने बताएको छ तर त्यसको विस्तृत विवरण दिएको छैन।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले वर्तमान द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान गरेको छ।

यसैबीच टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले इजरेलले युद्ध अपराध गरेको आरोप लगाउनुभएको छ।

त्यसको प्रतिक्रियामा इजरायलले टर्कीस्थित आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ।

‘बन्धकलाई छुटाउन समस्या’

गाजामा सुरु भएको इजरायली स्थल कारबाहीका कारण हमासले बन्धक बनाएकालाई छुटाउने प्रयास जटिल बनेको कतार सरकारले जनाएको छ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले भन्नुभयो, “बढ्दो तनावले यसलाई (बन्धक छुटाउने प्रयास) अझ कठिन बनाउँछ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई परास्त गर्ने र बन्धकलाई घर फिर्ता ल्याउने कुरामा कुनै विरोधाभास नभएको बताउनुभएको थियो।

यद्यपि त्यसलाई पछिल्लो आक्रमणले जटिल बनाएको कतारको भनाइ छ। कतारले बन्धकहरू छुटाउनका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको बताइएको छ।

इरानको चेतावनी

इरानका राष्ट्रपति इब्राहिम रइसीले इजरायलको कदमले ‘अन्तिम रेखा पनि पार गरेको र त्यसले सबैलाई कदम चाल्न बाध्य पार्न सक्ने’ चेतावनी दिनुभएको छ।

आइतवार एक्स (पहिलेको ट्विटर)मा उहाँले लेख्नुभएको छ, “वाशिङ्टनले हामीलाई केही नगर्न भन्छ तर उनीहरू इजरायललाई व्यापक रूपमा सहयोग दिइरहेका छन्। अमेरिकाले ‘एक्सिस अफ रेसिस्टेन्स’लाई सन्देश पठायो तर युद्धको मैदानमा स्पष्ट प्रतिक्रिया प्राप्त गर्‍यो।”

एक्सिस अफ रेसिस्टेसन्स पश्चिम एशियाका इरान समर्थित सैन्य समूहहरूको सञ्जाललाई भन्ने गरिन्छ र हमास पनि त्यसको एउटा सदस्य हो।

अमेरिकी अधिकारीहरूले इरानलाई इजरेल हमास युद्धबाट बाहिरै रहन चेतावनी दिँदै आएका छन्।

लेबननस्थित इरानको समर्थन पाएको हिजबुल्लाह समूहले हालैका साताहरूमा इजरायलतर्फ गोलाबारी गरेको छ।

लेबननमा नेपाली सैनिक पनि घाइते

यसैबीच लेबननमा क्रियाशील हिजबुल्लाह र इजरायलबीचको तनावका क्रममा लेबननमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएको विवरण आएका छन्।

त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक शनिवार राति एउटा हतियारको टुक्रा खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको सरकारी समाचार संस्था राससले लेखेको छ।

घाइते सैनिकको नाम खुलाइएको छैन। उक्त टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो।

घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिशनको अस्पतालमा उपचार भइरहेको छ।

हाल उहाँको अवस्था सामान्य रहेको राससले जनाएको छ।

त्यहाँस्थित अन्य नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो।

लेबननमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी ८ सय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन्।

Share Now

Leave a comment.