Prakash Adhikari October 30, 2023

 

काठमाडौं, १३ कार्तिक । आजदेखि नेपालमा आइसीसी टी २० विश्वकप एसिया फाइनल छनोटका खेलहरु सुरु हुने भएका छन् ।

आयोजक नेपाल आज सिंगापुरसँग खेल्दैछ ।  बिहान ९ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल सिंगापुरलाई पराजित गर्दै विजयी  सुरुवात गर्न लक्ष्यमा रहेको छ । नेपालका लागि हरेक खेल उत्तिकै किन महत्वपूर्ण छन् भने यो फाइनल छनोटको खेलमा समूहमा शीर्षमा रहने टोलीले सन २०२४ मा अमेरिका र वेष्टइण्डिजमा हुने टी २०  विश्वकपमा भाग लिन पाउछन् ।

खेलमा नेपालको कप्तानी रोहित पौडेल र सिंगापुरको अरित्र दत्तले गर्नेछन् ।  नेपालले त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलबाट टोलीमा नरहेका सन्दीप लामिछानेलाई आज समावेश गर्दैछ ।  लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने देखिन्छ ।

नेपालको टोलीमा कप्तान रोहित पौडेल , कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् ।

सिंगापुरको टोलीमा कप्तान अरित्र दत्त , रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनकप्रकाश, अक्षक रुपक पुरी, थिलिप थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, अर्यान रसेल मेनन, अमात्र्य कौल, अर्याविर चौधरी र हर्ष भारद्धाज रहेका छन् ।

पहिलो दिन चार खेल 

आज पहिलो दिन चार खेल हुनेछन् । उता बिहान ९ बजे मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । टियुमा दिउँसो १ः ३० मा ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । मुलपानी मैदानमा सोहि समयमा हङकङले कुवेतसँग खेल्नेछ ।

फाइनल एशिया छनोट खेलको समूह ए मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन् ।

नेपाललाई स्वर्णिम अवसर 

यो खेलको फाइनलमा पुग्ने टोलीले सन २०२४ को विश्वकप खेल्न पाउने भएकोले नेपालका लागि यो अवसरलाई स्वर्णीम मानिएको छ । किनकी घरेलु खेल मैदान र घरेलु दर्शकको साथ नेपालले पाउने छ । क्रिकेटमा मैदानको पिच महत्वपूर्ण मानिन्छ । अभ्यस्त नभएको मैदानमा पिचको अवस्था बुझ्न नसकेर खेल हारेका धेरै उदाहरणहरु छन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको  टी २० विश्वकपमा  पहिलो पटक  खेलेको थियो ।

पहिलो पटक विश्वकप खेलेको नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदै सनसनी मच्चाएको थियो । धेरैले त्यो समय नेपालले अव लगातार विश्वकप खेल्ने बताएका थिए । तर नेपाल पछिल्ला तीन विश्वकपमा छनोट हुन सकेन ।

नेपाल २०१५ मा ग्लोबल छनोट, २०१९ मा एसिया क्षेत्र र २०२१ मा ग्लोबल छनोट ए बाट बाहिरिएको थियो । २०२२ को निर्णायक सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदै विश्वकपमा पुग्न सकेको थिएन । नेपालले पछिल्लो एक दशकमा गुमाएको सबैभन्दा ठूलो अवसर पनि टी २० विश्वकप नै हो ।

समूह ए मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन् । नेपालको बाटोमा सधै अवरोध गर्ने युएई अर्को समूहमा परेकोले नेपाल समूह बिजेता बन्ने बाटो पनि लगभग तय भएको छ ।

 

 

गत फागुन यता नेपालले आफ्नो क्रिकेट स्तर परिवर्तन गरेको छ । मोन्टी देशाई मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले लगातार एकपछि अर्को ठूलो सफलता हात पार्दै आएको छ ।

 

आइसिसी विश्वकप लिग–२ मा १२ मध्य ११ खेल जित्दै ओडिआई मान्यता जोगाउनु, विश्वकप छनोटमा स्थान बनाउन, एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेल्नु, भारतविरुद्ध सानदार प्रदर्शन र ११ औं एशियाली खेलमा विश्व कीर्तिमान कायम गराउने   सफलताले  नेपाली खेलाडीको मनोबल उच्च छ ।

 

Share Now

Leave a comment.