Prakash Adhikari November 24, 2023

 

दोहा(कतार), ८ मंसिर(बीबीसी) । इजरायल र हमासबीच भएको चार दिने सङ्घर्षविराम सहमति शुक्रवार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु हुने कतारले जनाएको छ।

दोहास्थित विदेश मन्त्रालयका एक प्रवक्ताले मानवीय सहायताको आपूर्ति चाँडोभन्दा चाँडो सुरु गरिने पनि बताउनुभएको छ ।

हमास र इजरायलबीच चार दिनका लागि सङ्घर्षविराम गर्ने र बन्दी साटफेर गर्ने विषयमा भएको सहमतिका लागि कतारले मध्यस्थता गरेको थियो।

सहमतिअनुसार इजरायली जेलबाट १ सय ५० प्यालेस्टिनी महिला र किशोरकिशोरी पनि मुक्त हुने छन् भने गाजामा मानवीय सहायता बढाइने छ।

शुक्रवार हमासले १३ बन्धक छाड्ने अनि केही सङ्ख्यामा प्यालेस्टीनी बन्दी इजरायलले समेत छाड्ने प्रवक्ता मजिद अल अन्सारीले बताए।

त्यसैगरी इजरायलको प्रधानमन्त्री कार्यालयले समेत शुक्रवार छाड्न लागिएका बन्धकहरूको ूप्रारम्भीक सूचीू प्राप्त गरेको अधिकारीहरूले उनीहरूका परिवारलाई सम्पर्क गर्न थालेको जनाएको छ।

यसअघि बिहीवारदेखि उक्त सङ्घर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टीनी बन्दीहरूको रिहाइ हुने भनिए तापनि त्यसमा ढिलाइ भएको थियो।

इजराली सेना इजरेली डिफेन्स फोर्सेजका प्रवक्ता पिटर लेर्नरले हालका निम्ति आफ्ना सैन्य कारबाही जारी रहने बताउनुभएको थियो।

उहाँले भन्नुभयो ूहामी अहिलेसम्म निरन्तर लडाइँकै अवस्थामा छौँ। सरकारले लडाइँ रोक्न भन्ने बित्तिकै हामी त्यसो गर्नेछौँ। हालसम्म त्यस्तो निर्देशन आएको छैन।ू

कतारको भनाई

कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार बिहान सात बजे सङ्घर्षबिराम सुरु हुनेछ भने दिउसो चार बजे बन्धकहरू छाडिनेछन्।

प्रवक्ताले चार दिने सङ्घर्षबिरामको यो पहिलो दिनको तालिका मात्र सार्वजनिक गरिएको बताउनुभएको छ।

जस अनुसार शुक्रवार १३ जना बन्धकहरू छाडिने छन्।

दुई पक्षबीचको सहमति अनुसार चार दिने सङ्घर्षबिरामका बेला हमास नियन्त्रणमा रहेका ५० जना बन्धकहरू छाडिनेछन्।

कतारको विदेश मन्त्रालयका अनुसार छाडिन लागेकाहरूमा केही जेष्ठ महिला र केही बालबालिकाहरू हुनेछन्।

प्रवक्ता अन्सारीका अनुसार बन्धकहरूको स्थानान्तरण सबै पक्षका लागि सुरक्षित हुने सोचका आधारमा उनीहरू रेडक्रसलाई बुझाइनेछ।

ूहामीले यो युद्धक्षेत्र हो भन्ने सम्झिनुपर्छ,ू उहाँले भन्नुभयो ।

Share Now