काठमाडौं, १७ मंसिर । नेपाल वायुसेवा निगमका तीन वटा कर्मचारी यूनियनले नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले प्रदान गर्दै आएको ग्राउण्ड ह्याण्डलिड.को सेवा खोस्ने सम्बन्धमा गरेको निर्णयको एकै स्वरमा विरोध गरेका छन् ।
नेपाल वायुसेवा निगम संयुक्त ट्रेड यूनियनद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “यही मिति २०८० मंसिर १५ गते हवाई क्षेत्रको नियामक निकाय श्री नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको व्यवस्थापन र कार्यशैलीका कारणले मात्रै युरोपियन यूनियनले नेपाललाई कालोसूचीबाट नहटाएको भनी विभिन्न सञ्चार माध्यम तथा प्राधिकरणकै आधिकारिक ट्विटर(एक्स) निगमको वदनाम गराउने अभिप्रायले अतिरञ्जित प्रचारप्रसार गरेकोप्रति हामी निगममा क्रियाशील सम्पूर्ण गंभीर ध्यानाकर्षण भएको छ।”
निगममा रहेका नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष राजु श्रेष्ठ, ने.वा.नि.कर्मचारी यूनियनका अध्यक्ष राजुबाबु थापा र ने.बा.नि. स्वतन्त्र कर्मचारी यूनियनका अध्यक्ष कृष्णप्रसाद बजगाइँद्धारा प्राधिकरणकै कमजोरीका कारण नेपाललाई युरोपियन युनियनले कालोसूचीमा राख्दै आएको पृष्ठभूमि उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “युरोपियन युनियनले सन २०१३ मा नै नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा विभाजन गरी सोही अनुरुप कार्यसम्पादन गर्ने जस्ता आधारभूत सुझाव दिएको भएता पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसम्म त्यससम्बन्धमा कति पनि कार्य नगरेको, आफ्नो नीतिगत तथा संरचनागत पुनर्संरचना गर्न नसकेको,हवाई सुरक्षासम्बन्धी आधारभूत मापदण्ड पूरा नगरेको इत्यादि जस्ता विषयलाई गौण रुपमा राखेर सम्पूर्ण दोषारोपण नेपाल वायुसेवा निगमलाई थुपारी नियमाकीय भूमिका निर्वाह गर्न नसकेको विषय हालै भएको ईयू अडिटले समेत औल्याएको देखिन्छ ।”
निगममा कार्यरत कर्मचारीहरुका प्रतिनिधि संस्थाका संस्थाका अध्यक्षहरुले भनेका छन्,”सन २०१५ मा विश्वभरिका हवाई कम्पनीहरुको गुणस्तर मापन गर्दा निगमले आयटा सेफ्टि अडिट फर ग्राउण्ड अपरेसन्स सर्टिफिकेट प्राप्त गरेको र हालसम्म उक्त सर्टिफिकेट निरन्टर रुपमा नवीकरणसमेत गर्दै आएको छ । यसबाट निगमको सेवाको गुणस्तरीयता मापन गरिने हुनाले निगमले दिने सेवा समय सापेक्ष र अन्तर्राष्ट्रिय स्तरको रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना हुनुभन्दा अगाडि देखि नै नेपाल वायुसेवा निगम ऐन २०१९ मार्फत स्थापित यस निगमले सरकारी स्वामित्वमा रही ग्राउण्ड ह्याण्डलिड.सेवा सर्वसुलभ रुपमा प्रदान गर्दै आइरहेको छ जसबाट निगमले विदेशी डलर संचितिमार्फत अर्थतन्त्रमा टेवा पुर्याउदै आएको छ । साथै निगमले इतिहासको विभिन्न कालखण्डमा देशलाई परेको विभिन्न विपत्ती र समस्याहरुमा आजसम्म पनि अहोरात्र अटुट सेवा पुर्याउदे आएको छ ।”
निगमका ट्रेड युनियनहरुले निगमलाई हवाईमाफियाहरुले घेराबन्दी गर्न लागेको तथ्य समेत उजागर गरेको छ । विज्ञप्तिमा भनिएको छ, “हाल निगमले आफ्नो आन्तरिक स्रोतबाट नेपालको दुर्गमस्थानमा उडान भर्नको लागि श्री संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको अथक प्रयासमा निगमले ३ वटा जहाजहरु खरिद गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र समेत आह्वान गरिसकेको अवस्थामा निगमलाई घेराबन्दी गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई माफियाको इसारा तथा निहित स्वार्थमा निगमलाई कमजोर सावित गर्न, जहाज खरिद प्रक्रियालाई अवरुद्ध गर्न र निगमले स्थापनाकालदेखि नै गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा समेत प्रतिस्पर्धाको नाममा अन्य हवाई कम्पनीलाई सुम्पने निर्णय निन्दनीय छ । यसको हामी घोर भत्सर्ना गर्दै राष्ट्रिय सुरक्षामा चुनौती खडा गर्नेगरी सार्वभौमसम्पन्न राष्ट्रको राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा आँच आउने गरि गरिएको निर्णयका विरुद्ध हामी जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने व्यहोरा जानकारी गराउदछौ ।”
निगमका कर्मचारीहरुका संगठनले भनेका छन्, “इयुले गरेको अडिट भनेको नेपाल राज्यको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को नियमनकारी भूमिकाको स्तरको लागि हो । ने.वा.नि. लगायत अन्य एअरलाइन्सहरुको भूमिका भनेको नियमनकारी निकाय क्यानले गर्ने नियमनभित्रको एउटा सानो सम्बन्धको मात्र हो । तसर्थ क्यानको हालको नेतृत्व र काम गर्ने स्तरले गर्दा नै इयु ब्ल्याक लिष्टमा पर्नुृको मुख्य कारण हो । अतः प्राधिकरणको नेतृत्वले आफ्नो कमिकमजोरीहरुलाई लुकाउन ने.वा.नि लगायत अन्य एअरलाइन्सहरुलाई हिलो छ्याप्नु मात्र हो ।”
नेपाल वायुसेवा निगमका कर्मचारीहरुले भूमिस्थ सेवा निगमलाई निरन्तर नदिएमा त्यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवारी प्राधिकरणले लिनुपर्ने चेतावनी दिदै भनेका छन्, “अन्त्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको भूमिस्थ सेवालाई निरन्तरता दिने निर्णय यथावत कायम नराखेसम्म यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मा सरोकारवाला आफैले लिनुपर्ने व्यहोरा जानकारी गराइन्छ । साथै नेपाल वायुसेवा निगमको तर्फबाट निगम व्यवस्थापनले नेपाल नागरिक उड्डयन प्राधिकरण र सरोकारवाला निकायसंग आवश्यक समन्वय गरी समस्यालाई यथाशीघ्र छिटो समाधान गर्नुहुन आह्वान गर्दछौ ।”



















